काठमाडौँ, कुलेखानी तेस्रोका ठेकेदारलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काममा थप ढिलाई भएमा कालोसूचीमा राख्ने चेतावनी दिएका छन् ।
१४ मेगावाट क्षमता रहेको उक्त आयोजनामा स्थलगत भ्रमणमा गएका घिसिङले आयोजनास्थल बाटै भारतमा रहेका हुलास इन्जिनियरिङ एण्ड कन्ट्रक्सनका शरद गोल्छालाई फोन गरेर निर्माणमा लापरबाही गरेमा कालोसूचीमा राख्ने चेतावनी दिएका हुन् ।
उक्त आयोजनामा चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेडले हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको थियो । उक्त कम्पनि र नेपाली साझेदार कम्पनी लापरबाही र कमजोर कार्यसम्पादनका आयोजनाको निर्माण ढिलाइ भैरहेको छ ।
घिसिङले टेलिफोनमा गोल्छालाई भने, ‘ अझै पनि विभिन्न बहाना बनाए कुलेखानी तेस्रोको निर्माण अवरोध गरी विद्युत उत्पादन धकेलेमा हुलासले लिएका अन्य प्रसारण तथा सबस्टेसन आयोजनामा विलम्ब जरिवाना तिराउँदै ठेक्का तोडेर कालोसूचीमा राख्छु । राष्ट्रिय महत्वको आयोजनाको काम सम्पन्न नगरेर मुलुकलाई बन्धक बनाउने ? योभन्दा ठूलो अपराध के हुन सक्छ ? ‘
केही दिन अघि उनीहरुले कम्पनीले विद्युतगृह तथा प्रसार लाइन निर्माणमा संलग्न श्रमिकलाई तलब नदिएपछि काम नै ठप्प पारेका थिए । कम्पनीले श्रमिकहरुलाई करिब १८ लाख रुपैयाँ दिन बाँकी रहेको हुँदा प्राधिकरणले समस्या समाधानका लागि ठेकेदार कम्पनीलाई आइतबार नै पैसा दिने भएको छ ।
हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणहरुको आपूर्ति, जडान र संचालनका लागि प्राधिकरण र कम्पनी बीच ५० लाख अमेरिकी डलर र २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणले काम ढिलो गरे बापत कम्पनीबाट ठेक्का रकमको १० प्रतिशतले हुन आउने रकम (झन्डै ७ करोड रुपैयाँ) जरिवाना असुल्ने निर्णय गरेको थियो ।
भिडियो हेरी आफ्नो प्रतिक्रिया दिनुहोस