खेलमा राजनीतिक झेल : अब्बल भएर पनि पाउँदैनन् मौका !

काठमाडौँ – क्षमता भएर मात्रै कहाँ हुँदो रहेछ र ? क्षमतामा कृपा पनि जोडिनुपर्ने रहेछ । टोक्यो ओलिम्पिक २०२० का लागि छानिई छनौट प्रतियोगिता जितेर पनि खेल्न नपाएका धावक गोपीचन्द्र पार्की पछिल्ला उदाहरण मात्रै हुन् । नेपालका अब्बल खेलाडीहरू छनौट भएर पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएका घ’टनाहरू थुप्रै छन् । छनौट प्रतिस्पर्धाबाट छानिएर आठ महिना लामो कडा प्रशिक्षण गरे पनि गोपीचन्द्र पार्कीले ओलिम्पिक्स खेल्न पाएनन् ।

पार्कीको जस्तो जानै नपाउने मात्रै होइन, नेपाली खेलाडीहरू विदेशी भूमि र खेल मैदानबाटै लज्जित भएर फर्कन परेको धेरै उदाहरण छन् । कतिपय खेलाडीहरूले त्यो दुःखबाट गुज्रिएपछि खेल्न नै छोडेका उदाहरण पनि छन् । यस्ता घ’टनाहरूमा कारण जे जस्तो भए पनि खेलाडीहरूलाई ललाइफकाइ गरेर विषय सामान्यीकरण गर्ने बानी पदाधिकारीहरूमा परिसकेको खेलाडीहरू बताउँछन् ।

सन् २०१० मा बंगलादेशको ढाकामा सम्पन्न ११औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका बेला पनि त्यस्तै भयो । करातेबाट १५ खेलाडीको छनौट गरेर बन्द प्रशिक्षण थाइल्यान्ड पठाइयो । तर, पाँच जना खेलाडी अन्तिम अवस्थामा हटाइयो र एक महिना बैंककमा प्रशिक्षण लिएका खेलाडीहरू काठमाडौं फर्किए । ती पाँचमध्येका एक खेलाडी मन्डेकाजी श्रेष्ठ भन्छन्, ‘ढाका उड्ने बेलामा हामीलाई भनियो कि तिमीहरूको कोटा काटिएको छ, अब खेल्न पाउँदैन । हामी रुँदै नेपाल फर्कियौँ ।’ त्यो घ’टनाले खेलाडीहरू यति दुःखी भए कि कति खेलाडीले खेल नै छोडे । श्रेष्ठले भने, ‘त्यसलाई ‘इख’ को रूपमा लिए र १३औँ दक्षिण एसियाली खेलकुदमा दुई वटा स्वर्ण पदक जिते ।’

सोही खेलकुदका लागि छानिएका बक्सिङका दीपक महर्जनमाथि पनि त्यस्तै घ’टना दोहोरियो । आयोजकले तौल हटाइएको भन्दै उनलाई पनि थाइल्यान्डबाटै नेपाल फर्कायो । पछि उनले चीनको ग्वाङझाउमा भएको १६औँ एसियाली खेलकुदमा नेपालका लागि कांस्य पदक जिते ।
सन् २०१४ मा दक्षिण कोरियामा भएको १७औँ एसियाली खेलकुदको घ’टना त झन् दुःखद थियो । कराते टोलीको बन्द प्रशिक्षण जापानमा राखिएको थियो । जापानबाटै खेलाडीहरू दक्षिण कोरिया पुगे । तर, त्यहाँ पुगेर दुई जना खेलाडीहरू गंगा अधिकारी र चञ्चला दनुवारले खेल्न पाएनन् । उनीहरूको स्थानमा नेपाल ओलिम्पिक कमिटीले अर्कै दुई खेलाडीको नाम पठाएको थियो । त्यति बेला नेपाल कराते महासंघ राष्ट्रिय मान्यता र अन्तर्राष्ट्रिय मान्यता गरी दुई चिरामा विभक्त थियो ।

कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी छनोट राष्ट्रले गर्ने गर्छ । एसियाली खेलकुदजस्तो ठूलो प्रतियोगितामा त राष्ट्रिय खेलकुद परिषद्ले छुट्टै छनौट समिति नै गठन गरेको हुन्छ । तर, त्यति बेला अन्तर्राष्ट्रिय मान्यताप्राप्त कराते महासंघले आफ्नै ढंगले खेलाडी दक्षिण कोरिया लगेको थियो । खेल स्थलमा पुगेपछि मात्र यो विषय सार्वजनिक भयो । गंगा र चञ्चलाले खेल्न पाएनन् । उनीहरूको स्थानमा अनुपमा थापा मगर र विमला तामाङले प्रतिस्पर्धा गरे । कराते खेलाडी चञ्चला दनुवार मैदानमा पुगेर पनि खेल्न पाइनन् ।

मैदानमा एकै देशका दुई टोली पुग्दा देशकै बेइज्जत त भयो नै, घर झगडा अन्तर्राष्ट्रिय रूपमा समेत छरपस्ट भयो । त्यहाँ पुगेर खेल्न नपाएका खेलाडी दनुवारको पीडा त अझ दोहोरो थियो । उनको स्थानमा खेलेकी विमलाले कांस्य पदक जितिन्, जुन नेपालले सो प्रतियोगितामा जितेको एक मात्र पदक थियो । चञ्चलालाई आफूले जित्ने पदक अरूले खोसेको जस्तो महसुस भयो । खेलमा हुने राजनीतिक झेलको सिकार छन् उनीहरू ।

फेसबुकबाट तपाईको प्रतिक्रिया