काहिँ कतै नमिलेको भए सच्चाएर अघि बढ्न तयार ! प्रधानमन्त्री ओली

धानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपबीचको सम्बन्ध विस्तारमा युरोप भ्रमण अत्यन्त फलदायी भएको बताउनुभएको छ । अन्तरर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को स्वीट्जरल्याण्डको जेनेभामा आयोजित शतवार्षिकी समारोहलाई सम्बोधन तथा फ्रान्स र बेलायतको औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “हामी अत्यन्त सक्रिय रह्यौँ, हामीले हाम्रा नीति, उपलब्धि, आवश्यकता र आकाङ्क्षालाई सबै ठाउँमा सान्दर्भिक ढङ्गले सान्दर्भिक ठाउँमा कुरा उठाएका छौँ, अघि बढाएका छौँ ।” नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा भएको त्रिपक्षीय सम्झौता धेरै पुरानो भएकाले त्यसले आजको आवश्यकतालाई निर्देशन र नियमित गर्न नसक्ने जनाउँदै उक्त सम्झौतालाई पुनरावलोकन गरी द्विपक्षीय सहमतिका आधारमा अघि बढन चाहेको विचार र सोच बेलायतसँग राखेको उहाँले जानकारी दिनुभयो । एक प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले हाम्रा जहाज युरोपलगायत विश्वका जुनसुकै आकाशमा उडाउन प्रयत्न गरिरहेका छौँ । यो विषयमा भ्रमणका बेला सरोकारवालसँग गम्भीरताका साथ कुरा उठाएका छौँ ।

” ‘कहीँकतै धक्का परेको भए गुठी विधेयक सच्याइन्छ’

गुठी विधेयकका सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासाको जवाफमा प्रधानमन्त्री ओलीले नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भइसकेकाले जनताको इच्छा, भावना र हितविपरीत सरकारले कुनै पनि कुरा नगर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “जनतालाई सर्वाेपरी देवता मान्ने, जनताको इच्छा, आकाङ्क्षा, हित र आदेशानुसार काम गर्ने जनउत्तरदायी सरकारले जनताको कुरा सुन्छ, जनताको हितमा काम गर्छ, कहीँकतै कमीकमजोरी देखियो भने त्यसलाई सच्याउने छ ।” कतिपय ठाउँमा गुठीका नाममा जनता र गरीबमाथि शोषण भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “मोही, बहाल, धार्मिक गुठी, सांस्कृतिक र परम्परासँग जोडिएका गुठीमा कहीँकतै धक्का परेको रहेछ भने सरकारले त्यसमा विचार गर्नेछ ।

आबेग, उत्तेजना, द्वन्द्व, आन्दोलन गर्ने नभई नेपालको अबको समय भनेको संवाद, सहमति, सहकार्य र अग्रगमन भएको बताउँदै प्रधानमन्त्री ओलीले विरोधको भावनालाई उचालेर कहाँ पुग्छु भन्ने भावना नराख्न सबैलाई सुझाव दिनुभयो । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको युरोप भ्रमणका क्रममा भएका गतिविधि र उपलब्धिबारे जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया