बाढीमा अन्नपात भिजेपछि भोकै रहेका सयबढी परिवारलाई ‘ईन्सपेक्टर यादव’ ले बाँडे राहत !

जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका १ स्थित मुसहरी टोलमा बाढी प्रभावित पीडितहरुलाई राहत वितरण गरिएको छ ।

ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक रामकुमार यादवले निजी खर्चमा मुसहरी टोलका करिब १०० घर परिवारलाई राहत वितरण गरेका हुन् ।

बाढीमा अन्नपात भिजेपछि भोकै रहेका उनीहरुलाई चिउरा, दालमोठ लगायतका खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

निरन्तरको अविरल वर्षापछि आएको बाढी गाउँ पसेपछि बिच्चलीमा परेका उनीहरुप्रति ईन्सपेक्टर यादवले कोमल हृदय देखाएका हुन् ।

जनताको सुरक्षाको अभिभारा तथा मानवताको नाताले राहत बाँडेको ईस्सपेक्टर यादवले बताए ।

उनले न्यूज ब्यूरोसँग कुराकानी गर्दै भने, ‘प्रहरीको काम ड्युटी गर्नु मात्र होईन, जनतालाई कुनै किसिमको समस्या परेका बखत आवश्यक किसिमको सहयोग गर्नु पनि हो ।

भोकै रहेका १०० परिवारको भोक टार्न पाउँदा खुशी छु । जनतासेवामा अगामी दिनमा पनि सदैव अगाडि रहनेछु ।’

बाढीको पानी गाउँ पसेकाले सबैलाई सतर्क भएर बस्न उनले आग्रह गरेका छन् । कसैलाई कुनै किसिमको सहयोग चाहिए जानकारी गराउन उनले अनुरोध गरे ।

लगातारको वर्षापछि आएको बाढीले यो क्षेत्र डुबानमा परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया