काठमाडौँ, बाराको जीतपुर सिमरा उपमहानगर पालिकाको सामुदायिक विद्यालयका प्रधानाध्यापक ६१ लाख भन्दा ज्यादाको ठगिको आरोपमा पक्राउ परेका छन् ।
सामुदायिक प्राथमिक विद्यालय सगरदिनाका ४३ वर्षीय प्रधानध्यापक अनिल ठाकुरलाई इलाका प्रहरी कार्यालय सिमराले ६१ लाख १४ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोपमा सोमबार पक्राउ गरेको हो ।
रौतहट घर भई हाल वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३२ विद्यानगरटोलमा बस्दै आएका प्रधानाध्यापक ठाकुरले आफु प्रधानाध्यापक हुँदा विद्यालयमा शिक्षकको जागिर लगाइदिने भन्दै २ लाखदेखि ५ लाख सम्म रकम असुल गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)गोविन्द पुरीका अनुसार उनले २० जनाबाट प्रतिव्यक्ति २ लाखदेखि ५ लाखसम्म ठगी गरेको उजुरी परेको छ ।
पुरीले भने, ‘ दुई वर्षदेखि ठाकुरले विभिन्न व्यक्तिहरुसित रकम उठाउँदै आएका थिए । ‘
ठगी गरेका व्यक्तिहरुले रकम फिर्ता मागेपछि रकम नै नभएको खाताको चेक दिएर लुकिछिपी बस्न थाले पछि पीडितहरुले रकम किटानी सहित इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।
सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । डीएसपी पुरीका अनुसार पीडितहरुले गरेको उजुरीमा बाउन्स भएका चेकहरु समेत रहेको छ ।
पुरीले भने, ‘ प्रारम्भिक बयानका क्रममा ठाकुरले अपराध स्वीकारेका छन् । उनलाई ठगी मुद्दामा बारा जिल्ला अदालतबाट सात दिनको म्याद थपी अनुसन्धान अगाडी बढाइएको छ । ‘







