७ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलको गठबन्धन मूलभूत रुपमा सफल भएको बताएका छन् ।
भक्तपुरको मध्यपुर थिमीमा निर्वाचित जनप्रतिनिधिलाई शनिबार आफ्नै निवासम बधाई दिँदै उनले गठबन्धनमार्फत देशको राजनीतिमा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको र यसमा मूलभूत रुपमा सफल भएको बताएका हुन् ।
मध्यपुरथिमिमा निर्वाचित जनप्रतिनिधिबाट राम्रो काम भए एकाधिकार भएर बस्नेलाई पनि भोलिका दिन चुनौति दिन सकिने उनको भनाइ छ । ‘त्यहाँका जनताको विकास निर्माण, शिक्षा स्वास्थ्य रोजगारी, सफाइ सूचनालगायतका तपाईंहरुका काम कारबाहीको प्रभाव सिङ्गै भक्तपुर, उपत्यका र देशैभरि पनि सन्देश दिने स्थानमा तपाईंहरु आउनुभएको छ’, अध्यक्ष प्रचण्डले भने ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गरी प्रमुखमा निर्वाचित भएका छन् ।
त्यस्तै उपमेयरमा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १२ हजार १०२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।







