कमलाको बिचमै फसे मुखिया, हेलिकप्टरबाट उद्धार !

धनुषा–सिरहा सिमानामा पर्ने कमला नदीको बाढीमा फसेका पुजारीको उद्धारका गर्नका लागि स्थानीय प्रशासन जुटेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट करिब २ किलोमिटर उत्तरमा रहेको एक मन्दिरका पुजारी सिरहाको कर्जन्हा बस्ने बेदरु मुखिया बाढीमा फसेका धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले बताएका छन् ।

कमला नदीको बीचमा रहेको (टापु स्थित) मन्दिरमा वर्षातको पानी प्रवेश गरेपछि पुजारी मुखिया रुखमा चढेर ज्यान जोगाउन सफल भएका छन् । पुजारी मुखियाकाे उद्दार गर्न नेपाली सेना, सशस्त्र प्रहरीको टोली पुगेको छ । पानीको बहाव उच्च भएको कारण पुजारीको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर मगाइएकाे छ ।

वर्षा भइरहेको कारण पुजारी मुखियाको उद्दारमा समय लाग्न सक्ने प्रमुख जिल्ला अधिकारी कँडेलले बताए । अविरल वर्षाले कमला नदीमा पानीको बहाव बढेको छ । कमला नदी वरिपरी बस्तीमा सतर्कता अपनाइएको उनले बताए । धनुषा–सिरहा सिमानामा पर्ने सो नदीले प्रत्येक वर्ष दुवै जिल्लामा ठूलो क्षति गर्ने गरेको छ ।

कमला नदीमा आएको बाढी सिरहा नगरपालिका-६ स्थित बसपिट्टा गाउँ पसेको छ । सिँचाईका लागि निर्माण गरिएका ’एन्टी फल्ड सुलुस’ अधुरै छोड्दा त्यहीँबाट बाढी गाउँमा आएको हो। बाढी गाउँमा पस्न थालेपछि स्थानीय प्रशासनले प्लाष्टिकका बोरामा माटो हालेर पानी बन्द गराउने काम गरिरहेका छन्।

स्थानीयबासीका अनुसार शुक्रबार बिहानदेखि कमला नदीको बाढी गाउँ पस्न थालेको हो । सयौं बिघाह जग्गा डुबानमा परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया