काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मेयर बालेन शाह र मन्त्री रामकुमारी झाक्री प्रशंशा गर्दै काठमाडौंको फोहोर व्यवस्थापन गर्न छ वटा काम तत्कालै गर्नुपर्ने बताएका छन्। काठमाडौंमा फोहोर उठ्न थालेकोमा मेयर शाह र सहरी विकास मन्त्री झाक्रीको निरन्तर पहलकदमी प्रशंसनीय भएको बताए।
अहिले फोहोर उठ्न थालेकोमा खुसी व्यक्त गर्दै महामन्त्री थापाले फोहोर संकट फेरि आउन नदिन सम्झौताअनुसार काम गर्न सुरू गर्नुपर्ने बताएका हुन्। करिब दुई साता काठमाडौंको फोहोर उठेको थिएन। स्थानीय बासिन्दासँग सम्झौता गरेपछि फोहोर उठ्न थालेको छ।
फेरि फोहोरको संकट आउन नदिन केही काम तत्काल र तदारूकताका साथ गर्नुपर्ने थापाले बताए। उनले बन्चरेडाँडाका स्थानीय बासिन्दासँग गरिएको सम्झौता कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
उनले आफ्नो जिम्मेवारीअनुसार सबैले काम गर्ने हो भने फेरि समस्या नआउने बताएका छन्। ‘यसरी हामी प्रत्येकले आजैबाट, अहिल्यैबाट आ-आफ्नो जिम्मामा परेका काम गर्दै गयौं भने फेरि १७६ औं पटक सम्झौता गर्नुपर्ने अवस्था आउँदैन, काठमाडौ फोहोरको संकटबाट मुक्त हुन्छ,’ उनले भने।







