काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने अग्नि सापकोटाले सभामुम पद पड्काएपछि प्रचण्ड एकाएक हौसिएका छन् भने सापकोटाको खुसीको सीमा छैन ।
सापकोटाभन्दा पनि धेरै खुसी चिनियाँहरू भएका छन् । सापकोटाले शपथ लिएको दुई घण्टाभित्र संसद सचिवालयस्थित कार्यकक्षमै पुगेर नेपालका लागि चिनियाँ राजदूतले बधाइ दिनुभनेको त्यसकै संकेत हो ।सापकोटा चीन निकट नेता हुन् । चीनले विश्वास गर्ने नेताहरूमा सापकोटाको नाम दोस्रो नम्बरमा छ ।
सापकोटाभन्दा पनि चीनले उनकै दलका अर्का नेतालाई धेरै विश्वास गर्छ । चीनले सबैभन्दा धेरै विश्वास गर्ने नेता भनेको कृष्णबहादुर महरा हुन् । तर, महरा अहिले डिल्लीबजार कारागारमा छन् ।
उनी अहिले पनि चिनियाँ प्रतिनिधिहरूसँग सम्पर्कमा छन् । महरालाई भेट्न नेकपा, नेपाली कांग्रेसदेखि उच्च तहका व्यक्तिहरू भेट्न डिल्लीबजार कारागारमा जाने गरेका छन् ।
पछिल्लो समय डिल्लीबजार कारागारको बसाइँमा महराले आफू ओलीको काम गर्ने शैलीबाट प्रभावित बनेको बताउन थालेको स्रोत बताउँछ । प्रचण्डको बोली र गराइको ठेगान नभएपछि महराले ओलीप्रति झुकाब राखेका हुन् ।
आफूलाई भेट्न आउने शुभेच्छुक र नेताहरूसँग महराले देशका लागि ओली नै उचित व्यक्ति भएको बताउने गरेका हुन् । नेकपाका एकजना केन्द्रीय नेताले भने,‘केपी ओली नै सरकार चलाउने दृढ इच्छा शक्ति भएको व्यक्ति हो । अहिलेकै अवस्थाबाट सरकार अगाडि बढ्यो भने अरु दुई कार्यकाल नेकपालाई कसैले हल्लाउन सक्दैन ।’
संसद सचिवालयकी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा डिल्लीबजार कारागारमा बसेका महराले पूर्वमाओवादी नेताहरूबाट आफूलाई धोका भएको पनि बताउने गरेका छन् ।
सीमित नेताहरूलाई छाडेर अधिकांश नेताहरू आफ्नाविरुद्ध लागेको महराको बुझाइ छ । माओवादीको तुलनामा एमाले पृष्ठभूमि भएका नेताहरूले आफूलाई विश्वासघात नगरेको महराले आफू निकटका नेताहरूलाई बताउने गरेको स्रोतले जनाएको छ ।
महरा अबका दिनमा आफ्नो राजनीतिलाई अलिक नयाँ ढंगले अगाडि बढाउने सोचमा छन् । पूर्वमाओवादी वा पूर्वएमाले भन्दा पनि नेकपाकै ब्राण्डमा राजनीति गर्ने उनको सोचाइ छ । साथै महराले नेकपामा पार्टी एकीकरण भइसकेपछि भागबण्डाका आधारमा चल्न नहुने पनि बताउन थालेका छन् ।
भागबण्डाले पार्टीमा स्वार्थ उत्पन्न हुनेभन्दै योग्यता र क्षमताका आधारमा सबैले अबसर पाउनुपर्ने उनको सिद्धान्त छ ।कारागार चलान भएपछि महराले आफूलाई लागेको आरोप भन्दा पनि आफ्नै पूर्व राजनीतिक साथीहरूबाट धोका भएको बताउने गरेका छन् । ‘मलाई साथीहरूले नै धोका दिए । सकेसम्म फसाउनैतिर लागे’, महराको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।
विशेष गरेर महरा अध्यक्ष प्रचण्डसँग अलिक धेरै असन्तुष्ट छन् । दाङमा पत्रकार सम्मेलनमा प्रचण्डले महराको गल्ती छ भनेर दिएको अभिव्यक्तिबाट उनी असन्तुष्ट छन् । सोही कारण पनि उनले अबका दिनमा प्रचण्डलाई भन्दा पनि ओलीलाई साथ दिने पक्का जस्तै छ । प्रचण्डले बचाउनेप्रयास नगरेको महराको बुझाइ छ ।
राष्ट्रिय राजनीतिमा महरा डिल्लबजार कारागारभित्र रहेपनि अझै पनि प्रभावमा राख्ने गरेको एक नेताले बताए । ‘महराजी कारागारमा रहेपनि राष्ट्रिय राजनीतिमा उहाँको प्रभाव अझै छ’, एक नेताले भने, ‘महराजीलाई पूर्वमाओवादीका नेताहरूप्रति धेरै विश्वास गरेको देखिएन ।’ (यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार)