एमाले विधान महाधिवेशन सम्पन्न हुनुअघि आज के–के हुँदैछ गोदावरीमा ?

१७ असोज, काठमाडौँ । नेकपा एमालेको प्रथम विधान महाधिवेशन आइतबार सम्पन्न गर्ने तयारी भइरहेको छ । गत शुक्रबार (१५ असोज)बाट सुरु भएको विधान महाधिवेशन आइतबार (१७ असोज) सम्पन्न गर्न लागेको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार महाधिवेशन सम्पन्न गर्नुअघि आइतबार प्रस्तुत भएका प्रतिवेदन र प्रस्तावमाथि उठेको प्रश्नको सम्बन्धित् शीर्ष नेताले जवाफ दिने कार्यक्रम छ । महाधिवेशनमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेका छन् ।सो प्रतिवेदन र प्रस्तावमाथि समूहगत छलफल भइसकेको र समूहका नेताहरूले उठाएका प्रश्नको आइतबार सम्बन्धित नेताले जवाफ दिने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए । जवाफ दिएपछि उक्त प्रतिवेदन र प्रस्ताव पारित गरेर आइतबार विधान महाधिवेशन सम्पन्न गरिने उनले बताए ।

यसबारे प्रचार विभाग प्रमुख भट्टराईले जारी गरेको विज्ञप्तिको पूर्णपाठ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ऐतिहासिक प्रथम विधान महाधिवेशनको तेस्रो दिन आज पाँचवटा समूहमा भएको छलफलबाट निकालिएका निष्कर्ष समूहका नेताहरूबाट सुझावका रूपमा प्रस्तुत गरिएको छ ।

महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गर्नुभएको संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख रहनुभएका उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावउपर सुझाव दिने क्रम सकिएको छ । विधान महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनमाथि छलफल र सुझावका लागि दशवटा समूह बनाइएको थियो ।

गण्डकी प्रदेश, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय र प्रवास, प्रदेश २, प्रदेश १ र जनवर्गीय संगठन समूहहरूबाट सुझाव प्रस्तुत गरिएको थियो । गण्डकी प्रदेश समूहको तर्फबाट सुझाव प्रस्तुत गर्दै केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष जगत विश्वकर्माले पार्टीलाई नेकपाको निरन्तरताका रूपमा अगाडि बढाउनुपर्ने, नेपाली समाजको वर्ग विश्लेषण गरिनुपर्ने र प्रधान अन्तरविरोधका बारेमा स्पष्ट गरिनुपर्ने धारणा राख्नुभयो । पार्टीमा वर्गीय पक्षधरतामा ह्रास आउन दिन नहुने उहाँको सुझाव थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया