पाँचथर। मिक्लाजुङ ३ आरुबोटेमा भएको ९ जनाको हत्यामा संलग्न भएको आशंका गरिएका मानबहादुर माखिम झुण्डिएको अवस्थामा मृत फेला परेपछि घटना थप रहस्यमय भएको छ। देशैभरका आम सर्वसाधारणको दैनिकी शुरु भएसँगै फैलिएको हत्याको खबरले मंगलवार विहानैदेखि चर्चा पाइरहेको थियो। यहि चर्चामा ससुराली र साँढ दाजुको वंशै सकाउने गरि ९ जनाको हत्याको आशंका गरिएका व्यक्ति माखिम समेत मृत भेटिएपछि स्थिति जटिल बनेको हो।
यहि जटिलतालाई चिर्न नेपाल प्रहरीले आफ्नो विशेषज्ञ टोली घटनास्थल पठाएको छ। काठमाण्डौबाट पठाइएको सिआईबीको बिशेष टोली पाँचथर आइपुगेको छ। टोलीले घटनास्थलको स्थलगत जाँचबुँझ गरेपछि शव उठाइएको छ।
शवलाइ पोष्टमार्टमको लागी बिपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान लगिएको घटनास्थलमा रहेका पत्रकार सरोज शर्माले जानकारी दिए । अहिले आरुबोटेमा भएको ९ वटा शव र मिक्लाजुङ ८ लुमाङदिनमा झुण्डिएको अवस्थामा भेटिएका मानबहादुर माखिमको शव मिक्लाजुङ गाउँपालिकाको केन्द्र रविमा भेला पारेर पोष्टमार्टमका लागि धरान लैजाने तयारी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए।
मिक्लाजुङ ३ आरुबोटेमा गए राती ९ जनाको हत्या भएको हो। मिक्लाजुङ ३ आरुबोटेको वडा कार्यलय छेउमा सो घटना भएको हो । धनराज शेर्माको ५ जना परिवार र बमकुमार फियाकको ४ जनाको हत्या भएको हो।
हत्या गरिएकाहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, पुर्सिकुमारी फियाक बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी घाइते छिन् ।
९ जनाको विभत्स हत्यामा ज्वाइँ र साढुभाइ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका माखिम घरभन्दा झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
मानबहादुरको शव घटनास्थल भन्दा २ घन्टा टाढा रहेको मिक्लाजुङ ७ लिम्बामा एक रुखमा झुन्डीएको अवस्थामा फेला परेको थियो । उनको शव रहेको स्थान नजिकै रगत पोतिएको अवस्थामा खुकरी र रगत लतपतिएकै कपडाहरु भेटिदा उनैले हत्या गरेका हुन कि भनेर आशंका गरिएको छ। यद्यपी यसबारेमा थप अनुसन्धान प्रहरीले शुरु गरेको छ।
पाँचथर हत्या, सातथरी प्रश्न
१. नौजनाको हत्या गरेर मानबहादुर कसरी २५ किमि टाढा पुगे र आत्महत्या गरे ?
पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ को आरुबोटेमा सोमबार राति दुई परिवारका नौजनाको हत्या भएको छ । ससुराली बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्माको परिवार लगभग सखाप भएको छ ।
दुई परिवारको हत्यामा अर्का ज्वाइँ मानबहादुर मोखिमको संलग्नता रहेको प्रारम्भिक अनुमान गरिएको छ । तर, मानबहादुर पनि मुख्य घटनास्थलभन्दा करिब २५ किलोमिटर टाढा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
मानबहादुरसँग मोटरसाइकललगायत कुनै सवारीसाधन नभएको स्पष्ट भएको छ । तर, सोमबार राति ससुरा र ज्वाइँको घरमा सुतेका नौजनाको हत्या गरेर मानबहादुर बिहान हुनुअघि २५ किलोमिटर टाढा कसरी पुगे ? प्रहरीले जवाफ दिन बाँकी छ ।
२. सिलाइ–कटाइ तालिमको खाजा खाँदा नुनमा सिसा कसले मिलायो ?
घटनामा ससुरा बमबहादुर फियाक, श्रीमती पुर्सीमाया र ३५ वर्षीया छोरी मनकुमारीको हत्या भएको छ । त्यस्तै, बमबहादुरकी साइँली छोरीका छोरा आसे फियाकको पनि त्यही घरमा हत्या भएको छ । त्यस्तै, बमबहादुरका ४१ वर्षीय माइँला ज्वाइँ धनराज शेर्मा, उनकी ४० वर्षीया श्रीमती जस्मिता, कक्षा ९ मा पढ्ने १४ वर्षीया छोरी युहाना, कक्षा ४ मा पढ्ने आठ वर्षीया मुना र कक्षा १ मा पढ्ने ६ वर्षीया इच्छाको पनि हत्या भएको छ ।
सो गाउँमा सिलाइ–कटाइसम्बन्धी तालिम चलेको र गत साता धनराजको घरमा खाजा खाने सबैजसो गाउँले बिरामी भएको स्थानीय अस्पतालले पनि पुष्टि गरेको छ । नुनमा सिसाको धुलो मिसाएर हत्याको प्रयास गरेको भन्दै ज्वाइँ मानबहादुरमाथि नै आशंका गरिएको थियो ।
साढुको घरमा आएर भान्सामा पसेर उनले तरकारीमा सिसा कसरी मिसाए ? अहिलेसम्म खुलेको छैन । उनी त्यो दिन गाउँमा आएको कसैले पुष्टि गरेको छैन ।
३. खानामा सिसा, सामूहिक हत्याको प्रयास, तर प्रहरीले किन अनुसन्धान गरेन ?
तालिममा सहभागी भएर खाजा खाएका सातजना स्थानीय बिरामी भएका थिए । पाँचजनालाई जिल्ला अस्पताल लगिएको थियो भने दुईजना गम्भीर बिरामीलाई स्थानीय समर्पित हस्पिटल लगिएको थियो ।
समर्पितका डा. विशालचन्द्र सुवेदीले मंगलबार राति नयाँ पत्रिकासँग टेलिफोनमा भने, ‘दुईजना बिरामी बेहोसजस्तै अवस्थामा आउनुभएको थियो, उहाँहरूले कुनै प्रश्नको जवाफ दिन सक्नुभएको थिएन । तर, अर्को दिन बोल्न सक्नुभयो ।
घाँटी र पेट दुखेको बताउनुभयो । उहाँहरूका आफन्तले सिसाको धुलो मिसिएको नुन पनि लिएर आउनुभएको थियो । जिल्ला प्रशासन र प्रहरीका हाकिमहरू पनि आउनुभएको थियो । तर, बिरामीहरू ठीक हुँदै गएपछि हामीले डिस्चार्ज गर्यौँ ।
त्यसपछि अनुसन्धान के भयो ? हामीलाई जानकारी छैन ।’ खानामा सिसा मिसाएर सामूहिक हत्याको प्रयास कसले र किन गरेको थियो ? प्रहरी प्रशासनले किन अनुसन्धान गरेन ? प्रश्न अनुत्तरित छ ।
४. मात्र एकजनाले खुकुरीले नौजनाको हत्या गर्दा छिमेकीले कसरी थाहा पाएनन् ?
प्रहरीको प्रारम्भिक अनुसन्धानले मानबहादुरले माइतमा बस्दै आएकी श्रीमती, ससुराली र साढुदाइको परिवार सखाप पार्ने योजनाअनुसार हत्या गरेको संकेत गरेको छ । उनीहरूको घरेलु विवाद रवि इलाका प्रहरी कार्यालयसमेत पुगेको थियो ।
प्रहरीले मिलापत्र गराए पनि श्रीमती माइत बस्दै आएकी थिइन् । तर, पारिवारिक विवादले मानबहादुर मानसिक तनावमा भएको स्थानीयहरूले बताएका छन् । तर, मानसिक रूपमा विचलन भएको व्यक्तिले खुकुरीले दुई परिवार सखाप कसरी गरे ? एकजना व्यक्तिले नौजनाको हत्या गर्दा छिमेकीले कसरी थाहा पाएनन् भन्ने प्रश्न अनुत्तरित छ ।
५. हत्यारा ठानिएका मानबहादुरको पनि ‘आत्महत्या’ तर तीनवटा टिसर्टमा रगत
ससुराको घरमा श्रीमतीसहित चारजना र १० मिनेट टाढा साढुको घरका पाँचजनाको हत्या गरेपछि करिब २५ किलोमिटर टाढा लुमाङदिनको जंगलमा गएर मानबहादुरले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । तर, करिब दुई किलोमिटरअगाडि उनको झोला भेटिएको छ । झोलामा सेन्डोसहित तीनवटा टिसर्ट र एउटा हाफपाइन्ट भेटिएको छ । यी सबै कपडा रगताम्मे छन् । एउटा व्यक्तिले तीन–तीनवटा टिसर्ट किन लगायो ? सबैमा रगत कसरी लाग्यो ? यो प्रश्नले घटनालाई रहस्यमयी बनाएको छ ।
६. हत्यामा संलग्न भनिएका मानबहादुरको झोला र शव दुई किमि टाढा
रगतले लतपतिएका सेन्डोसहित तीनवटा टिसर्ट झोलामा भेटिएका छन् । खुकुरी पनि त्यहीँ छ । तर, दुई किलोमिटर पर झुन्डिएको अवस्थामा फेला परेका मानबहादुरले कालो पाइन्टमाथि हरियो टिसर्ट लगाएका छन् । हरियो टिसर्टभित्रको सेतो सेन्डो पनि लत्रिएको अवस्थामा देखिन्छ । तर, यी कुनै पनि लुगामा रगतको निसाना देखिँदैन । हत्यापछि आत्महत्या गर्न हिँडेका मानबहादुरले सम्पूर्ण कपडा किन फेरे ? उनीसँग दुईवटा सेन्डोसमेत कसरी भए ? घटना लुकाउनु थियो भने २३ किलोमिटर हिँडिसकेका उनले कपडा किन लुकाए ? थप दुई किलोमिटर हिँड्नासाथ आत्महत्या कसरी गरे ? यो प्रश्न झन् रहस्यमयी छ ।
७. खुकुरीले हानेर नौजनाको हत्या गर्ने मानबहादुरको शरीरमा रगतको निसान छैन
जुन रूखमा मानबहादुर झुन्डिएका छन् त्यसको फेदमा चप्पल भेटिएका छन् । तर, चप्पलमा रगतको कुनै निसान छैन । चप्पल पनि हतासिएको मान्छेले राखेजस्तो छैन । ढोकामा जस्तै मिलाएर राखिएको अवस्थामा छन् । त्यत्रो नरसंहारमा संलग्न भएको मान्छेको शरीर, लुगा र चप्पलमा समेत रगतको निसान किन छैन ? आत्महत्या नै गर्नु थियो भने उनले रगत किन पखाले ? उनले रगत लागेको कपडा फेरेका हुन् भने प्रमाण लुकाउन चाहन्थे । तर, प्रमाण लुकाउन खोजेको मान्छेले आत्महत्या किन गर्यो ? हत्या गर्न खुकुरी बोकेर हिँडेको मान्छेले आत्महत्या गर्न डोरी कसरी बोक्यो ? यी प्रश्नको जवाफ प्रहरीले खोज्नुपर्नेछ ।
क्रूर बन्दै समाज, आफन्तभित्रै हत्या बढ्दो सात महिनामा श्रीमती हत्याका ६७ घटना
सामान्य विवादमा जघन्य अपराध नेपाली समाजमा बढ्दै गएको छ । प्रहरीका अनुसार हत्याका घटनामध्ये झन्डै ४० प्रतिशत आफन्तबाटै भएका छन् ।समाजका मूल्य–मान्यता फेरिँदै गएको र विचलन बढ्दा आफन्तभित्रै हत्याका घटना बढेको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेल बताउँछन् । ‘सामान्य विषयमा समाज र घरभित्रै हुने घटना निकै बढेका छन्,’ उनी भन्छन्, ‘यस्ता घटना रोक्न प्रहरीले पनि सामुदायिक पुलिसिङको अवधारणा अघि बढाएको छ ।’
गत साउनदेखि माघसम्म सात महिनामा देशभर चार सय ९२ व्यक्तिको हत्या भएको तथ्यांक छ । जसमध्ये एक सय ४४ हत्या आफन्तबाटै भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । साउनदेखि माघ मसान्तसम्मको तथ्यांकअनुसार ६७ पुरुषले श्रीमतीको हत्या गरेका छन् भने ६ पुरुष श्रीमतीबाट मारिएका छन् ।
१५ आमाबुबा छोराबाट मारिएका छन् । आमाले ६ बालबालिका तथा आठ नवजात शिशुको हत्या गरेका छन् । चार बालबालिकाको हत्या बाबुबाट भएको प्रहरीले जनाएको छ । यस्तै, यो अवधिमा दाजुबाट चार भाइ–बहिनी र बुहारीले तीन सासू–ससुरा र जेठानीको हत्या गरेका छन् ।
त्यस्तै, नातिले हजुरबुबा, सासू–ससुराले ज्वाइँछोरी, काकाकाकीले भतिज, भान्जाले मामाको हत्या गरेका घटना रहेको प्रहरी प्रवक्ता डिआइजी पोखरेलले बताए ।
आफन्त नै संलग्न बडिखेल हत्या : जेठानबाटै नगरकोटी परिवारको हत्या
१६ असोज ०६० मा दसैँको महाअष्टमी परेको थियो । ललितपुरको लेलेमा भानु नगरकोटी र उनका परिवार मासुभात खाएर सुतेका थिए । सोही रात भानुसहित ३० वर्षीया श्रीमती धनकुमारी, १३ वर्षीय छोरा रवीन्द्र, १० वर्षीया छोरी लुरी र आठ वर्षकी टुकुली भन्ने भगवतीको हत्या भएको थियो । यो सामूहिक हत्याको घटना लामो समयसम्म रहस्यमै रह्यो । तर, १२ वर्षपछि आफन्तबाटै हत्या भएको पुष्टि भयो ।
भानुका जेठान चन्द्रबहादुर पहारीले नगरकोटी परिवारको हत्या गरेको महानगरीय अपराध महाशाखाले पुष्टि गर्यो । सुरुमा पक्राउ परे पनि संलग्नता पहिल्याउन नसकेपछि प्रहरीबाट छाडिएका उनी २ भदौ ०७२ मा संलग्नता पुष्टि भएर पक्राउ परेका थिए । आफ्नी श्रीमतीसँग ज्वाइँ भानुको अनैतिक सम्बन्ध रहेको आशंकामा चन्द्रबहादुरले मदिराको नसामा मध्यराति बहिनीज्वाइँको परिवारकै हत्या गरेको अनुसन्धानमा खुलेको हो । तर, जेल परेको एक वर्षमै चन्द्रबहादुरको मृत्यु भइसकेको छ ।
भोजपुरका तीन बालबालिकाको हत्या रहस्यमै
०७४ असारमा भोजपुर अरुण–१ प्याउलीमा तीन बालबालिकाको हत्या भएको थियो । स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जीव, चेतनाथ फुँयालका १३ वर्षीया छोरी सुष्मा र आठ वर्षीय छोरा प्रदीपको शव माछापोखरीमा भेटिएको थियो । घटनाको अनुसन्धानमा सिआइबीबाट समेत टोली खटिए पनि सफलता हात लागेको छैन ।
नेपालगन्जमा ससुराबाटै ज्वाइँसहित परिवारका ६ को हत्या
नेपालगन्जका दीपक हेमकरसहित उनका परिवारका पाँच सदस्य र एक कामदारको २३ फागुन ०६२ मा रहस्यमय तरिकाले हत्या भएको थियो । घटनाको १३ वर्षपछि गत असोजमा हत्याकाण्डको पर्दाफास भयो । दीपकको ससुरालीबाटै सम्पत्ति हत्याउन सो हत्याकाण्ड गराइएको खुल्यो । दीपकको नामको सम्पत्ति श्रीमतीको नाममा नामसारी गरिएको थियो । हत्याका वेला श्रीमती भारत गएकी थिइन् ।
नागरिकताका लागि दाइको परिवारकै हत्या
सप्तरीको राजविराजमा गत वर्ष जेठमा सामान्य विवादमा परिवारकै हत्या भयो । राजविराज बस्ने सूर्यनारायण साह, उनकी श्रीमती बेचनीदेवी र छोरी प्रतिभाको हत्या भएको थियो । सूर्यनारायणकै सहोदर भाइ पञ्चदेवले हत्या गरेका थिए । दाइले नागरिकता बनाउन सहयोग नगरेको बहानामा छिमेकीको सहयोगमा उनले हत्या गरेका थिए । दाइको सम्पत्ति हात पार्नसमेत परिवारकै हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।
समाजमा विचलन बढ्यो : डिआइजी विश्वराज पोखरेल
प्रवक्ता, नेपाल प्रहरी
पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने औसतमा दिनमा कर्तव्य ज्यानका दुई घटना भइरहेको देखिन्छ । पेसेवर अपराधीबाट तथा संगठित समूहबाट भन्दा पनि समाजमा हुने सानातिना झै–झगडा, परिवारमा हुने विवाद, सामान्य रिसइबी, आर्थिक लेनदेन तथा चरित्रका विषयलाई लिएर धेरै हत्या हुने गरेका छन् । पाँचथरको घटनाको अनुसन्धान हुँदै छ, तर आपराधिक समूहबाट होइन कि जस्तो देखिन्छ ।
तराईतिर हेर्ने हो भने दाइजोका कारण समेत हत्या भएका छन् । सामाजिक परिवेशभित्रको विचलनबाट सिर्जित हत्याका घटना बढेका छन् । परिवारभित्र र नातेदारभित्र हत्या भएका छन् । हाम्रो संस्कृतिमा आएको विचलन नै यसको मुख्य कारण हो जस्तो लाग्छ । सामाजिक मूल्य–मान्यता फेरिँदै गएका छन् । एउटा विषयमा परिवारका सदस्यभित्रै हेर्ने दृष्टिकोण फरक हुने गरेको छ । आफू केन्द्रित भएर सोच्ने प्रवृत्ति समाजमा बढ्दै गएको छ । यस्तो सोच र मान्यताले हत्या घटना बढेका छन् ।
प्रहरीले पनि त्यस्ता घटना रोक्न नयाँ कार्यशैली अवलम्बन सुरु गरेको छ । अहिले हामीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रूपमा गाउँ–गाउँमा लिएर गएका छौँ । सायद यो कार्यक्रमले यस्ता घटनामा कमी आउनेछ ।
नेपालीमा रिस धेरै, सहनशीलता कम : हेमन्त मल्ल
अवकाशप्राप्त डिआइजी
अमेरिकालगायत देशमा यस्ता सामूहिक हत्याका घटना हामीले विगतमा पनि सुन्दै आएका हौँ । नेपालमा पनि यस्ता घटना हुन थालेका छन् । यसको एउटा कारण द्वन्द्वको प्रभावसमेत हो । द्वन्द्वले पनि मान्छेलाई यस्ता घटनामा योगदान दिएको हुन सक्छ । द्वन्द्वग्रस्त देशमा काम गरेर फर्किएका व्यक्तिमा पनि यस्तो आँट र क्रुरता हुन सक्छ ।
यस्ता घटनाका पछाडि हाम्रो सामाजिक–आर्थिक कारण पनि प्रमुख छ । गरिबीले मान्छेलाई अपराधतर्फ डोर्याउँछ । जघन्य अपराधपछाडिका कारण हेरिनुपर्छ ।
अर्काे कुरा, नेपालीमा सहनशीलता एकदमै कम छ । सडकमा मोटरसाइकलले छोयो भने पनि मारौँलाजस्तो गरी झगडा गरेको देखिन्छ । नेपालीमा रिस अत्यधिक देखिन्छ । रक्सी र लागुऔषधजस्ता पदार्थको सेवनले पनि यस्ता घटना बढाएका हुन सक्छन् ।