काठमाडौँ, सोमबार साँझ रसुवा स्थित मैलुङ स्याफ्रुबेसी सडक खण्डमा बा. १० च ५८२० नम्बरको टाटसुमो दुर्घटना हुँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार निर्माणाधीन सडक खण्डमा भएको दुर्घटनामा दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
प्रहरी प्रमुख (प्रहरी नायब उपरीक्षक) भागेन्द्र ढकालको जानकारी अनुसार मृत्यु हुने रसुवाको आमा–छोदिङ्बो गाउँपालिका वडा नं ४ गोल्जुङका ३४ वर्षीया मेन्दो घले, ३२ वर्षीया साइली घले र २९ वर्षीय नुर्बु तामाङ रहेका छन् ।
त्यसैगरी घाइते हुनेमा २९ वर्षीया योङजोेङ तामाङ र उहाँको छोरा पाँच वर्षीय वाङ्जोङ तामाङ, तीन वर्षीय बालक निमा छेवाङ तामाङ, ३५ वर्षीया देउरानी तामाङ र गाडीका चालक ३० वर्षीय निमाकामी घले रहेका छन् ।
गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि सोमबार राति नै उनीहरुलाई काठमाडौँ पठाइएको नुवाकोट प्रहरीले जनाएको छ ।
पोखरा स्थित गुम्बामा अध्ययनको लागि राखेको बच्चासंग भेट गरेर घरतर्फ फर्कदै गरेको एउटै परिवारका ३ सदस्यको उक्त दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।