केआइसिंह गाउँपालिका–१ बाउजेलामा आज जङ्गली बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार खेतमा काम गरिरहेको अवस्थामा जङ्गली बँदेलले आक्रमण गर्दा ३२ वर्षीय जगत विक र ३२ वर्षीय इन्द्र विक घाइते भएका हुन् ।
घाइते जगतको अवस्था गम्भिर छ ।
उहाँलाई उपचारका लागि जिल्ला बाहिर लैजान सिफारिस गरिएको शैलेश्वरी अस्पताल, दिपायलका निर्देशक डा आइजङ कुँवरले जानकारी दिनुभयो ।
अर्का घाइते इन्द्रको शैलेश्वरीमा उपचार भइरहेको छ ।
बालश्रम न्यूनीकरणका लागि अभियान
विदुर नगरपालिकाको सहयोग, सामुदायिक विकास केन्द्र नेपाल तथा जालपा मिडिया सर्भिसको सहजिकरणमा नगरपालिकामा बालश्रम न्यूनीकरण अभियान शुरु गरिएको छ । शुरुआतमा नगरपालिका–१, २, ४ र ५ मा उक्त अभियान थालिएको हो ।
नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बालश्रम न्यूनीकरणका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले विदुर नगर क्षेत्रलाई बालश्रमरहित बनाउने उद्देश्यका साथ अभियान थालिएको स्पष्ट पार्नुभयो ।
उप–प्रमुख गीताकुमारी दहाल, नगरपालिकाका प्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष टलकमान श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुदेवकुमार पोखरेल, जिल्ला बालकल्याण समितिका सदस्य इन्द्रबहादुर पण्डित, च्वाडी पब्लिक माध्यमिक विद्यालयका प्रधानाध्यापक टीकाराम खरेललगायतले समृद्ध समाज निर्माणका लागि सबै प्रकारका बालश्रमको अन्त्य जरुरी रहेकोमा जोड दिनुभएको थियो ।
उक्त कार्यक्रममा बालबालिकाको क्षेत्रमा काम गर्दै आउनुभएका विष्णु खत्रीले बालश्रम न्यूनीकरण सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
‘जालपा मिडिया सर्भिस’का प्रबन्ध निर्देशक शिव देवकोटाले सो अभियानअन्तर्गत सञ्चालन गरिने कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।







