लहान, १३ साउन /अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गर्दा आज मालपोत कार्यालय सिरहाका नायब सुब्बासहित दुई जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीबाट खटिएको टोलीले छड्के जाँच गर्दा घुससहित मालपोत कार्यालय सिरहाका नायब सुब्बा मिथिलेश ठाकुर र त्यही कार्यालयमा लेखापढी व्यवसाय गर्ने राजवंशी चौधरीलाई पक्राउ गरेको हो ।
मोहीको लागत पट्टावापत सेवाग्राहीबाट रु पाँच हजार रकम लेखनदास चौधरीमार्फत नासु ठाकुरले लिएकाले घुससहित दुबैलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनुभयो ।
साँखु मालपोत कार्यालय नमूना घोषणा
सरकारले काठमाडौँमा अर्को मालपोत कार्यालयलाई नमूना कार्यालय घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज एक समारोहबीच साँखुस्थित मालपोत कार्यालयलाई नमूना कार्यालय घोषणा गर्नुभएको हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कलङ्किस्थित मालपोत कार्यालयलाई नमूना कार्यालय घोषणा गर्नुभएको थियो । मन्त्री अर्यालले कार्यालय साच्चिकै नमूना बन्न सक्नुपर्ने भन्दै नमूना कार्यालयबाट सेवाग्राहीले छिटो चुस्तदुरुस्त सेवा पाउने बताउनुभयो ।
उहाँले मन्त्रालयले थालेको कामलाई सफल बनाउन सबै कर्मचारीलाई आग्रह गर्नुभयो । सोही क्रममा कार्यालयको अनुगमनसमेत गर्नुभयो । उहाँले अहिले समग्र भूमि प्रशासनलाई व्यवस्थित गर्न लागिरहेकाले मन्त्रालयको गतिलाई कर्मचारी तथा समग्र सेवाग्राहीले साथ दिनुपर्ने बताउनुभयो ।
मन्त्री आर्यालले नयाँ प्रविधियुक्तमार्फत जग्गा प्रशासनलाई व्यवस्थित गराउन आफू लागिरहेको धारणा राख्नुभयो । भूमि सम्बन्धीको आठौं संशोधनका लागि अहिले छलफल भइरहेको उल्लेख गर्दै उहाँले अब सबै मोहीलाई अधिकार दिएर कोही पनि मोही नरहनेगरी सरकार जान खोजेको बताउनुभयो ।
कार्यक्रममा सांसद सरिता न्यौपानेले सरकारले गरेका सेवालाई चुस्तदुरुस्त बनाउन प्रविधिसँगै सीप पनि दिनुपर्ने बताउनुभयो । प्रदेश नं ३ का प्रदेशसभा सदस्य मणिराम फुँयालले नीतिगत, विधिगत तरिकाले काम गर्नुपर्ने भन्दै उहाँले हुने काममा नरोकेर काम गरेर पठाउन कर्मचारीलाई आग्रह गर्नुभयो । मन्त्रालयका सचिव गोपिनाथ मैनालीले विस्तारै सबै कार्यालयलाई आधुनिक र सुविधा सम्पन्न बनाउँदै लैजाने अभियानमा मन्त्रालय लागेको बताउनुभयो ।
शङ्करापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले डिजिटल प्रणालीले सेवाग्राहीले छिटोछरितो सेवा पाउने बताउनुभयो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले देशभरका मालपोत कार्यालयमध्ये ७६ कार्यालयमा अनलाइन सेवा सञ्चालन गरिएकाले विस्तारै सबै कार्यालयलाई सूचनामैत्री गर्दै लैजाने बताउनुभयो । यसैगरी सो कार्यालयमा स्तनपान केन्द्रकोसमेत व्यवस्था गरिएको छ ।







