काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रको बजेटमा यसपालि व्यापक वृद्धि गरेको छ।पोहोर सालभन्दा यसपालि महानगरले शिक्षाको बजेट तीन गुणाले बढाएको हो।
आर्थिक वर्ष २०७९\८० का लागि महानगरले ७० करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको काठमाडौं महानगरपालिका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए।
‘चालु आर्थिक वर्षका लागि झन्डै २२/२३ करोड बजेट छुट्याइएको थियो,’ उनले भने, ‘यो पटक नयाँ कार्यक्रम राखेका कारण शिक्षाका लागि पहिलेभन्दा तीन घुणा बढी बजेट छुट्याइएको हो।’
यो वर्ष महानगरले सार्वजनिक शिक्षा सुधारका विभिन्न कार्यक्रमहरू प्रस्ताव गरेको जनाएको छ।विद्यालय तह पूरा गरेकालाई व्यवहारिक ज्ञान दिनका लागि प्राविधिक शिक्षा, पुरूष, महिला तथा अपाङ्गलाई सुविधासम्पन्न शौचालय, दिवा खाजाको व्यवस्था कक्षा ८ सम्ममा विस्तार गरिनुका साथै खाजाको रकमलाई महानगरले समेत थपे प्रतिव्यक्ति ३० रुपैयाँ बनाउने प्रस्ताव गरेको छ।
यस्तै, नमूनाको रूपमा विद्यालयमा प्राथमिक विद्यार्थीका लागि किताब राख्न लकर बनाउने लगायतका नयाँ कार्यक्रमको लागि बजेट विनियोजन गरीएको महानगर शिक्षा शाखाले जनाएको छ।