काठमाडौं , ६ असोज । सोमबार बिहान महानगरको उपभोक्ता हित संरक्षण समितिका पदाधिकारी नक्साल तरकारी बजारको अनुगनका लागि आएको खवर सुनेपछि आलु र प्याजको व्यापार गर्ने किशोर पासवान पसल छोडेर भागे ।
बिष्णुप्रसाद सापकोटा प्रोपाइटर रहेको बिजी इन्टरप्राइजेज नाममा दर्ता भएको पसल खुल्ला थियो । लामो समय कुर्दा पनि व्यापारी नआएपछि सोधपुछका क्रममा उनी भागेको पत्ता लाग्यो । सापकोटा नक्साल तरकारी तथा फलफुल व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् ।
तरकारीको भाउ र बजारका जानकारी लिने क्रममा एकैछिन पछि अर्को सूचना आयो । पसल नं. ४०४१ क शिवलाल शाह पनि पसल छोडेर भागे । यो देखिरहेका नजिकैका अर्का व्यापारीले प्रति किलो ६० रुपैयाँमा प्याज बेच्न थाले । उनकोमा बाँकी भएको करीब २० किलो प्याज छिनमै रित्तियो ।
अन्य तरकारी बजारमाजस्तै नक्साल तरकारी बजारमा पनि खरिद बिक्री बिल र दर्ताको मुख्य समस्या देखियो । बजारमा तोफु (भटमासबाट बनेको खाद्यबस्तु) बिक्री गर्ने मिश्र स्वाँर भन्दै हुनुहुन्थ्यो — यसको म्याद त सुँघेर थाहा हुन्छ । किन्नेले सुँधेरै किन्ने हुन् । तोफु प्लाष्टिकको बाटामा पानी हालेर खुल्ला रुपमा बेच्न राखिएको थियो । त्यसमा कुनै खालको लेवल राखिएको थिएन । आजको समाचारपत्रमा समाचार प्रकाशित छ ।







