काठमाडौँ, २४ साउन /नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतान्त्रिक परिवर्तका सबै शक्तिहरु मिलेर मुलुकलाई समृद्ध बनाउनुको विकल्प नभएको बताउनुभएको छ ।
शमी साहित्य प्रतिष्ठानद्वारा आज काठमाडौँमा आयोजित कवि दीनानाथ शर्माको निबन्ध सङ्ग्रह ‘झरीको सौन्दर्य’ र शमी साहित्यिक मासिक पत्रिकाको विमोचन कार्यक्रमा अध्यक्ष दाहालले परिवर्तनका सहयात्रीहरु मिलेर देशलाई शान्तिपूर्ण रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँँले भन्नुभयो, “यो परिवर्तनलाई संस्थागत गर्नु बाहेक अर्काे विकल्प छैन, अँध्यारो कुनामा बसेर झटारो हानेर विकल्प आउछ कि भन्नुको कुनै अर्थ छैन ।” अध्यक्ष दाहालले विद्रोहको नेतृत्व र जिम्मेवारी लिँदै मुलुकलाई शान्तिपूर्ण रुपान्तरण गर्नमा महत्वपूर्ण भूमिका खेलेको जिकिर गर्नुभयो ।
हाल पार्टी एकता जस्तो ऐतिहासिक प्रक्रियासमेत पूरा भएकाले जनतामा देखिएको आशा र निराशा दुवैलाई आत्मसात् गरेर आफूहरु अगाडि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
प्रचण्ड’ले भन्नुभयो: परिस्थितिवस विद्रोहको नेतृत्व गरे पनि आफूले कसैलाई एक थप्पड समेत नलगाएको दावी गरेका छन्।“कसैलाई अचम्म लाग्छ, मेरै नेतृत्वमा तेत्रो विद्रोह भयो । तर, मैले एकजनाको पनि हत्या गरिनँ । हिंसात्मक विद्रोहको जिम्मेवारी मैले लिनुपर्छ, लिन्छु।”,उनले भने,
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले समाज रुपान्तरण गर्ने शक्तिशाली औजारका रुपमा साहित्य रहेको बताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनले वर्तमान समयको समस्यालाई बोधगरी सुन्दर भविष्यको परिकल्पना गर्न लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलले ठूला सपना देखाएर साना काम पनि नहुने प्रवृत्तिको अन्त्य हुनुपर्ने र देशलाई प्रयोगथलो बनाउन नहुनेमा जोड दिनुभयो ।
वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ साहित्यकार माधवप्रसाद पोखरेल, प्रा राजेन्द्र सुवेदी, तेजेश्वरबाबु ग्वङ्ग, डा बेञ्जु शर्मालगायतले कृतिका लागि शर्मालाई र पत्रिकाका निम्ति प्रतिष्ठानलाई शुभकामना दिनुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले साहित्य र राजनीतिलाई अन्तरघुलन बनाएर जानुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । संस्थाका संरक्षक डोलिन्द्रप्रसाद शर्माले समाज रुपान्तरणका लागि साहित्यको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।