काठमाडौँ, कर्णेल केशवराज कार्की भ्रष्टाचार अभियोगमा जेल चलान भएका छन् । सैनिक अदालतले कर्णेल कार्कीले सरकारी रकम हिनामिना गरेको ठहर गरेपछि नेपाली सेनाले उनलाई जेल चलान गरेको हो ।
अदालतले कार्कीले सरकारी रकम हिनामिना गरेको, अनुशासनविपरित र ओहोदा नसुहाउँदो काम गरेको ठहर गरेको छ । अदालतको फैसला प्रधान सेनापतिबाट सदर भएपछि उनलाई जेल चलान गरिएको हो ।
पाण्डेबाट ४९ लाख २९ हजार ८ सय ८८ रुपैँया असुल उपर गर्ने सैनिक अदालतले निर्णय गरेको छ । वैशाख २३ गतेबाट कालिसिद्धी गण उदयपुरका प्रमुख कार्कीलाई सेना आफैले पुर्पक्षका लागि थुनामा राखेको थियो ।
उनको मुद्दाको छिनोफानो गर्न २३ गते कर्नेल सोभित अधिकारीले नेतृत्वमा गठन भएको सैनिक अदालतले जेठ २ गते कार्कीलाई दोषी ठहर गरेको थियो ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले एक मिडिया संग भने, ‘ सेनाको युनिटको रकम दुरूपयोग भएको अदालतबाट ठहर भएको छ । कार्कीले राष्ट्रपति चुरे कार्यक्रमको रकम दुरूपयोग गरेको भन्ने ठहर भएको होइन । ‘
पाण्डेले थप गर्दै भने, ‘ नियन्त्रणमा लिइएपछि कार्कीले राष्ट्रपति चुरे संरक्षणको १ लाख ६७ हजारको काम गर्न नभ्याएको देखिएकाले त्यो रकम पनि असुल उपर गर्ने निर्णय भएको हो । ‘
जेठ ५ गते प्रधानसेनापातिले कार्कीलाई कारबाही गर्ने निर्णय सदर गरेका थिए र त्यस लगत्तै सैनिक अदालतले कार्कीलाई जेठ १० गते फैसला सुनाएको थियो ।
पाण्डेले भने, ‘ भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी तीन महिना कैद र ४९ लाख २९ हजार ८ सय ८८ असुल उपर गर्ने फैसला भएको छ । उहाँलाई केन्द्रीय कारागार चलान गरिएको छ । ‘