एमाले नेता: चार दलीय गठबन्धन देखावटी र ‘भुसुनाको झुण्ड’

बिराटनगर । नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनमा धनकुटाका सात वटै पालिका र ५२ वटा वडा सजिलै जित्ने दावी गरेको छ । शनिवार पत्रकार सम्मेलन गरेर जिल्लामा चार दलको गठबन्धन बनेपनि त्यसले एमालेलाई केही फरक पार्न नसक्ने दावी गरेको हो । एमाले नेताहरुले चार दलीय गठबन्धनलाई देखावटी र ‘भुसुनाको झुण्ड’ को संज्ञा पनि दिएका छन् ।

धनकुटामा सात पालिका र ६० वडा छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले सात वटै पालिका र ४३ वडा जितेको थियो । माओवादीबाट बिजयी भएका दुई वडाध्यक्ष पनि एमालेमै आएका छन् । अहिले सात वटै पालिकाका प्रमुख र उपप्रमुखसहित ४५ वडाका वडाध्यक्ष एमालेकै छन् । गत निर्वाचनमा जिल्लाभर निर्वाचित कुल जनप्रतिनिधि मध्ये ८५.५३ प्रतिशत पदमा आफ्ना उम्मेद्वार बिजयी गराई वाँकी सबै दललाई १४.४७ प्रतिशतमा सिमित गराएको एमालेले आगामी निर्वाचनमा अझ बढी जित निकाल्ने दावी गरेको हो ।

एमाले जिल्ला अध्यक्ष इन्द्रमणी पराजुलीले अहिलेको प्रारम्भिक सर्वेक्षण अनुसार धनकुटामा अरु सबै दलले गठबन्धन गरेपनि एमाले एक्लै भिडेर सातै पालिका र ६० वटै वडा जित्न सक्ने अवस्था रहेको बताए । सातै पालिका र ६० मध्ये ५२ वडा सजिलै जित्ने उनको दावी छ । ८ वटा वडामा प्रतिष्प्रधा हुनसक्ने उनको अनुमान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया