प्रतिनिधि सभाको चुनाव नलड्ने प्रचण्डको घोषणा

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अब चुनाव नलड्ने घोषणा गरेका छन् । उनले आगामी प्रतिनिधि सभाको चुनाव आफ्नो ‘लास्ट इनिङ’ भएको बताउँदै यस्तो घोषणा गरेका हुन्।

काठमाडौंमा शनिबार माओवादीको सम्पर्क समन्वयन प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो अन्तिम पारी भएको बताएका हुन्। “मलाई नै भन्नु हुन्छ भने त मेरो हुनसक्छ मेरो ‘लास्ट इनिङ’ हो,” अध्यक्ष दाहालले भने, “यो ‘लास्ट इनिङ’ चाहिँ पछिसम्मको सन्ततिलाई सम्झने गरी, देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु।”

उनले स्थानीय चुनावको नतिजाका आधारमा आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा माओवादी दोस्रो ठूलो पार्टी बन्ने दाबी गरे। त्यसका लागि आजैदेखि तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै दाहालले भने, “हामी दोस्रो बन्छौं, हुनै पर्छ। त्यसपछि देशको बागडोर हाम्रै हातमा आउँछ। देशलाई यसरी विकास, यसरी सुशासन यसरी समृद्धि भनेर देखाउनु छ।”

२०७४ सालको चुनावमा जितेका स्थानीय तह जोगाउन सकेको भए स्थानीय तहको निर्वाचनबाटै माओवादी दोस्रो पार्टी उनको भनाइ थियो। अहिले तेस्रो पार्टी भए पनि निर्णायक भएको बताउँदै अब दोस्रो पार्टी हुने गरी खट्न कार्यकर्तालाई निर्देशन दिए।

“मैले कांग्रेस नेताहरूलाई भनेको छु, अहिले पहिलो हुने तपाईहरू नै हो। माओवादी दोस्रो हुने गरी तालेमल हुनुपर्छ,” दाहालले कार्यकर्तालाई भने, “अब संघ र प्रदेशको निर्वाचनमा दोस्रो पार्टी बनाएर देशको बागडोर सम्हाल्ने गरी जानुछ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया