पेरिस — फ्रान्सको तेस्रो ठूलो सहर लियोंमा शनिबार अपरान्ह एक जना पादरीमाथि आक्रमण भएको छ । अर्थोडक्स गिर्जाघरमा भएको हमलामा आक्रमणणकारीलेे त्यहाँका पादरीलाई गोली हानेर गम्भीर घाइते बनाएका छन्। ग्रिक मूलका ती पादरीलाई दुई पटक गोली हानिएको थियो ।
लियों सहर निवासी सिल्भियन दला फामीले कान्तिपुरलाई बताएअनुसार अपरान्ह करिब चार बजे चर्चको ढोका बन्द गरेर हिँड्न लागेका बेला आक्रमणणकारीलेे पादरीमाथि सट गन प्रहार गरेका थिए । गोली हान्नासाथ पदारी भुइँमा लडेका थिए ।
फ्रान्समा शुक्रबारदेखि नै दोस्रो लकडाउन लागू गरिए पनि सोमबार सम्मका लागि धार्मिक स्थलहरुमा पूजापाठका लागि खुला राखिएको छ । आइतबार क्रिस्चियन सन्त दिवस परेकाले यो छुट दिइएको हो ।
सन् २०१५ मा चार्ली हेब्दो ब्यंग्य पत्रिकामा हमला गरी आतंककारीहरुले एक दर्जनको हत्या गर्नुको साथै अन्य ११ जनालाई घाइते पारेको घटनादेखि नै फ्रान्स आतंककारी हमलाको उच्च जोखिममा देखिएको छ । त्यसयता आतंककारिले लगभग २५० जनाको हत्या गरिसकेका छन् । संदिग्ध हमलाकारीविरुद्ध अदालतमा गत महिना मुद्दा सुनुवाइ हुन थालेपछि फ्रान्समा आतंककारी हमला फेरि दोहोरिनसक्ने भन्दै तनाव बढेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।






