काठमाडौँ / स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसमा गुटबन्दी मौलाउँदै गएको छ । सभापति शेरबहादुर देउवा एकलौटी रूपमा अघि बढेको भन्दै नेता रामचन्द्र पौडेल र शेखर कोइरालाले छुट्टाछुट्टै भेला आयोजना गर्दै आएका छन् । आफू निकटका जिल्ला सभापतिसँगै अन्य नेताहरूसँग छुट्टाछुट्टै भेला गर्दै आएका हुन् ।
३० वैशाखलाई तोकिएको स्थानीय तह निर्वाचन केन्द्रीत हुनुपर्ने बेला उनीहरू निहुँ खोजेर बस्न थालेका हुन् । पौडेलले शुक्रबार बिहान आफू निकटका जिल्ला सभापति र केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन् । त्यस्तै शेखरले पनि आफू निकट नेताहरूसँग छलफल गरेका छन् ।
पौडेलले आफ्नो निवास बोहराटारमा आफू निकट नेताहरूको भेला बोलाएका छन् । भेलालाई सम्बोधन गर्दै पौडेलले गुटगत नभई कांग्रेस बलियो बनाउन छलफल थालिएको बताए । गुटभन्दा पार्टी र मुलुक बलियो बनाउन खोजिएको उनले प्रष्ट पारे ।
भेलालाई सम्बोधन गर्दै पौडेलले लामो समयदेखि संवाद हुन नपाएको र स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा छलफल गर्न बोलाइएको बताएका थिए । उनले बोलाएको भेला पार्टीलाई बलियो बनाउन र नेताहरूसँग छलफल गर्न नभई पार्टी सभापति देउवालाई काउन्टर दिन हो । यदि छलफल नै गर्नुथियो भने आफू निकटका नेताहरूसँग मात्र किन ? यो प्रश्न आम कांग्रेसीले उठाइरहेका छन् ।
यता शेखर पक्षले पनि कांग्रेस केन्द्रीय समितिको बैठकअघि नै भेला डाके । देउवाले नेविसंघ र तरुण दलको अध्यक्ष एकलौटी नियुक्त गरेको भन्दै प्रतिवादद गर्न भेला डाकेका हुन् । भेलाले १४ चैतमा अलग भेलाको आह्वान गरेका छन् । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको तदर्थ समिति गठन सम्बन्धमा असन्तुष्टि जनाउँदै डा.कोइराला नेतृत्वको समूहले तरुण-विद्यार्थीहरुको भेला आह्वान गरेको हो ।
सभापति देउवाले बुधबार नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई मनोनीत गरेका थिए । भ्रातृसंस्थाको तदर्थ समिति गठन गर्दा परामर्श नगरेको र आफ्नो समूहलाई पेल्न खोजेको भन्दै कोइराला समूहले देशभरका तरुण विद्यार्थी नेताहरूलाई काठमाडौं बोलाउने निर्णय गरेको हो ।
‘सभापतिज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको सभापति मनोनीत गरेको विषयप्रति हाम्रो गम्भीर आपत्ति छ,’ नेविसंघका पूर्वसभापति रञ्जित कर्णले भने, ‘त्यसको प्रतिवाद गर्न १४ चैतमा काठमाडौंमा अलग भेला राखेका छौं ।’
उक्त भेलामा नेविसंघका पूर्वअध्यक्षदेखि देशैभरीका प्रतिनिधिहरू उपस्थित हुने उनको भनाइ छ । नियुक्तिको विषयलाई लिएर असन्तुष्टि जनाउँदै असन्तुष्ट पक्षले पार्टी कार्यालयमा नाराबाजीसमेत गरेको छ । कोइराला निटक विद्यार्थीहरूले सभापति देउवा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुनुअगावै नाराबाजी गरेका हुन् । कांग्रेस संस्थापन पक्षका नेताहरूले भने यस्ता समूहको बैठकलाई सामान्य लिएका छन् ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र यसरी समूहको छुट्टाछुट्टै छलफल हुनु सामान्य रहेको बताए । ‘पार्टीमा कहिले सामूहिक छलफल हुन्छ, कहिले छुट्टाछुट्टै यो त सामान्य कुरा हो । यसलाई हामीले अन्यथा लिनु हुँदैन । सबै पार्टीकै हितको लागि हो,’ महामन्त्री शर्माले भने ।







