पहिरोले आमा छोरीको मृत्यु, पाँच जना घाइते

बाजुरा, १७ साउन /लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन् । पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र छ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ ।

राति करीब १ बजेतिर घरमाथिबाट पहिरो खसेको बताइएको छ । पहिरोमा परी थप पाँच घाइते भएका छन् । घाइते हुनेमा ९० वर्षीय जङ्गे चदारा, जडेनी चदारा, सुके चदारालगायत छन् । जङ्गे चदाराको गौमुल गाउँपालिकाको घटमुना शहरी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रनाउ भाटको भनाइ छ ।

वर्षा नरोकिएका कारण गाउँमा थप त्रास फैलिएको वडा सदस्य प्रेम विकले जानकरी दिनुभयो । थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली र घटमुना प्रहरी चौकीबाट प्रहरीको टोली त्यसतर्फ गइसकेको बताइएको छ । जिल्लाका धेरै बस्ती भिरालो ठाउँमा भएका कारण पहिरोको उच्च जोखिममा रहेका छन् ।

सिसी क्यामेराको फुटेजको सहयोगले अपराधी पक्राउ
जिल्ला प्रहरी कार्यालय सुर्खेतले सिसी क्यामेराको फुटेजको साहयताले अपराधी पक्राउ गर्न सफल भएको छ ।

बुधबार मध्याह्न १२ः३० बजे वीरेन्द्रनगर नगरपालिका–६ मङ्गलगढी सुर्खेतस्थित पुरानो बसपार्क सडकखण्डमा एक वृद्धा महिलालाई ठक्कर दिएर फरार भएका युवकलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गुँरास गाउँपालिका–१ दैलख स्थायी घर भई हाल वीरेन्दनगर नगरपालिका–५ चिसापानी सुर्खेत निवासी २४ वर्षीय गगन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

प्रवक्ता क्षेत्रीका अनुसार भे८प ८१६० नंको मोटरसाइकलमा सवार चालक गुरुङले तीनकुनेचोकबाट मङ्गलगढीतर्फ आउँदै गर्दा वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका ६५ वर्षीया वृद्धा काली नेपालीलाई ठक्कर दिई गम्भीर घाइते बनाई फरार भएका थिए । घाइते नेपालीको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बुधबार बेलुका मृत्यु भएको थियो ।

घटनालगत्तै प्रहरीले खोजी कार्यलाई तीव्र बनाएको थियो । प्रहरीले फरार युवकको मोटरसाइकलको नम्बर नखुल्दा १५० सिसीको निलो कलरको पल्सर मोटरसाइकल सिसी क्यामेरामा हेरेर पत्ता लगाएको थियो । त्यहीका आधारमा फरार मोटरसाइकल चालक गुरुङ र उनको पछि बसेका वीरेन्द्रनगरपालिका–५ चिसापानी सुर्खेतका २२ वर्षीय मनबहादुर धामीलाई बिहीबार नियन्त्रणमा लिई कारवाहीका लागि आवश्यक अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले जनाउनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया