प्रचण्डलाई छटपटाहट सुरु भयो : लेलिन बिष्ट

काठमाडौ। पूर्व माओवादी बाल लडाकू लेलिन बिष्टले प्रचण्डलाई हेग लैजान तयार रहेको बताएका छन् । अन्तर्राष्ट्रिय अदालत (हेग) लगेमा आफूलाई केही फरक नपर्ने उल्टै संसारको हिरो बनेर निस्कने दाहालको भनाई प्रति प्रतिक्रिया दिँदै लेलिनले प्रचण्डमा छटपटाहट सुरु भएको बताए ।

“हामीले न्यायका लागि अन्तर्राष्ट्रिय पहल गरिरहेका छौँ, प्रचण्डको हिरो बनेर निस्कने अभिव्यक्ति त्यसैको नतिजा हो” विष्टले भने, “हिरो नै बन्न मन भए पीडितहरु सबै एक ठाउँमा छौँ, उनलाई हेग लैजान तयार छौँ । ”

विप्लव माओवादीका केही नेताहरुलाई आफ्नो पार्टी नेकपामा प्रवेश गराउँदै प्रचण्डले आफूलाई हेग लैजाने भन्दै दिइएको धम्कीलाई ‘प्रतिगामीको डिजाइन’ को संज्ञा दिएका थिए ।

हेग लगेमा संसारकै हिरो बनेर निस्कने बताएका प्रचण्डले भनेका थिए, ‘तर मलाई यिनीहरुले हेग लगेर हिरो बन्न दिन्छन् जस्तो लाग्दैन ।’

पूर्व माओवादी लडाकू विष्टले हालै संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को कार्यालय जेनेभामा आफूहरूमाथि अन्याय गरिएको भन्दै निवेदन दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया