काठमाडौं,साउन १२ – बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् ।
उनले आईतवार बालाजुको माछापोखरी सपिङ मलबाट हामफालेर आत्महत्या गरेका छन् ।
उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
श्रेष्ठको मृत्यु आत्महत्या हो वा होइन भनेर अहिले नै केही भन्न नसकिने प्रहरीले जनाएको छ ।
निधन भएका श्रेष्ठ लायन्स क्लबका पूर्व गभर्नर र नेपाल सरकारका पूर्व नासु पनि हुन् ।
जागिर छाडेर कांग्रेसको राजनीतिमा होमिएका श्रेष्ठ दुई वर्षअघि जिल्ला सचिव मनोनित भएका थिए ।
बालुवाटारको ललिता निवास (सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने) प्रकरणमा मुछिएका श्रेष्ठले आफू नासु हुँदा फाइल बढाएको आरोप बेहोर्दै आएका थिए ।
सोही प्रकरणमा उनलाई अख्तियारले बयानका लागिसमेत बोलाएको थियो ।







