काठमाडौँ, गोईत नेतृत्वको सशस्त्र भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले शासकका दलाल मधेशी कर्मचारीको भ्रष्टाचार र घूसखोरीका कारण मधेश आक्रान्त बनेको आरोप लगाउँदै थालेको कारवाही अभियान अन्तर्गत बिहीवार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपर कारवाही गरिएको बुझिएको छ ।
गाउँपालिका अधिकृत चन्देश्वर यादव उपर बिहीवार बेलुकी करिब साढे ५ तिर आक्रमण भएको हो । बिहीवार एक विज्ञप्ति जारी गर्दै मोर्चाका अध्यक्ष जयकृष्ण गोईतले यस घटनाको पुष्टि गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष बल्लभ साहले न्यूज ब्यूरोलाई दिएको जानकारी अनुसार अधिकृत यादव कार्यालयबाट घर गइरहेका बेला बाटोमा उनी माथि एक २ सय २० सिसिको पल्सर माटरसाईकलमा आएका २ जनाको एक समूहले छर्रा गोली प्रहार गरेको हो ।
गोईतद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘ शोषित, उत्पीडित मधेशीहरुको राय, सल्लाह र सहयोगमा भ्राष्टाचारी, घूसखोर, आफूलाई पहाडी ठानेर सर्वसाधारण मधेशीलाई हेप्ने, हेला गर्ने अहंकारी मधेशी कर्मचारीमाथि जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले हदैसम्मको कारवाही सुरु गरेको छ । ‘
विज्ञप्ती मार्फत यसबाट उत्पन्न हुने दुष्परिणामको जिम्मेवार भ्रष्टाचारी (अपराधी) घूसखोर र हेपाहा प्रवृितका मधेशी कर्मचारीहरु नै हुने बताइएको छ ।







