नेपालमा शासकहरुमा दृष्टिकोण नै ठिक भएन : प्रधानमन्त्री ओली !

काठमाडौँ, मंगलबार बालुवाटारमा आयोजित पोखरा विश्वविद्यालयको २० औं साधारण सभालाई उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रम शक्तिको समुचित उपयोग हुने नीति तथा कार्य योजना आवश्यक रहेको बताएका छन् ।

साथै उनले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने बिषयमा विश्वविद्यालयहरुले योजना बनाउन सक्ने बारे पनि उल्लेख गरेका छन् ।

उनले भने, ‘ हाम्रोमा देश विकास गर्ने जनशक्ति छ तर बाहिर गइरहेको छ । देशमा काम पाएको छैन । पायो भने सीप र क्षमता छैन । त्यसकारण हामीसँग भएको जनशक्तिलाई कस्तो प्रकारको सीप र शिक्षा दिने भन्ने योजना विश्वविद्यालयले बनाएर त्यहींबाट कार्यन्वयन सुरु गर्नुपर्दछ । ‘

पौराणिक कालका ऋषीमुनीहरुले यही भूमीबाट ज्ञान प्राप्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाल विद्वान पूर्खाको देश भएको पनि बताए । उनले भने, ‘ शासकहरुमा दृष्टिकोण ठिक नभएकोले नेपाल पछी परेको हो तर अब यो अवस्था लामो समय रहदैन । ‘

उनले बेरोजगारी बारे देशको आवश्यकता र शिक्षाको तादम्यता नमिल्दा ठुलो ठुलो योग्यता हासिल गरेका मानिसहरु बेरोजगार हुनु परेको बताए ।

उनले भने, ‘ कसैले खेत बेचेर पाइलट बनेका छन् तर जहाजको छेउमा पनि जान पाउदैनन् । यस्तो अवस्थामा उसको समय, स्रोत सबै खेर जान्छ । त्यसकारण रोजगारीका अवसर कहाँ छन् भनेर पहिचान गरेर मात्र शिक्षामा लगानी गर्नु पर्दछ । ‘

उनले भने, ‘ विश्वविद्यालयहरुले जथाभावी सम्बन्धन दिने काम बन्द गर्नुहोस । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया