हेटौँडा, १६ साउन /मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।
हेटौँडाको बसामाडीमा मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार सौरभ सुवेदी तथा अस्मित सुनारको मृ*त्यु भएको हो ।
बुधबार साँझ भएको दुर्घटनामा परी घाइते भएका दुवैको उपचारको क्रममा बुधबार राति नै ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।
हेटौँडाबाट बसामाडीतर्फ जाँदै गरेको ना३८प ५३३२ नंको मोटरसाइकल र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख १५०० नंको ट्रक महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा–३ बसामाडीमा एकापसमा ठोक्किएको थियो ।
सुनारको चितवनस्थित पुरानो मेडिकल कलेज तथा सुवेदीको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार गर्दैगर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
इलुङ झरनामा पूर्वाधार निर्माण शुरु
व्यावसायिक क्यानोनिङको तयारीमा रहेको इलुङ झरनामा पूर्वाधार निर्माणको काम शुरु भएको छ । तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीमा रहेको झरनामा पर्यटकलाई आकर्षित गर्नका लागि नगरपालिकाको सहयोगमा पूर्वाधार निर्माणको काम शुरु भएको हो ।
नगरपालिकाको रु पाँच लाखको बजेटमा एक हप्तादेखि झरनासम्म पुग्ने बाटोमा सिँढी र रेलिङ निर्माणको काम शुरु गरिएको वडाध्यक्ष इमान थापाले जानकारी दिनुभयो । वडाध्यक्ष थापाका अनुसार झरना जाने बाटोमा अप्ठ्यारो रहेको ठाउँमा सिँढी र रेलिङ निर्माण थालिएको छ । “झरना पुग्ने बेलामा झर्ने बाटो एकदमै अप्ठ्यारो रहेकाले पर्यटकलाई सहज होस् भन्ने उद्देश्यका साथ सिँढी निर्माण थालिएको छ”, उहाँले भन्नुभयो, “नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको जनश्रमदानमा यो काम सम्पन्न हुनेछ ।”
उक्त बाटोको ७७ मिटर भागमा ढुङ्गा छापेर सिँढी निर्माण गरिएको छ । दैनिक १५ भन्दा बढी स्थानीयवासी जनश्रमदानमा खटिएको स्थानीयवासी शिवकुमार आलेले जानकारी दिनुभयो । आलेका अनुसार आगामी असोजदेखि उक्त झरनामा व्यावसायिकरूपमा क्यानोनिङ सञ्चालन गर्ने तयारी गरिएको छ ।
झरनामा पूर्वाधार विकासका लागि नगरपालिकाले चालू आर्थिक वर्ष २०७६÷७७ मा रु १० लाख विनियोजन गरेको छ । उक्त रकमबाट क्यानोनिङका लागि आवश्यक सामग्री खरीद गरिनेछ । झरना नजिकै पर्यटकको सुविधाका लागि शौचालय र चेन्जिङरुम निर्माण गरिने वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार झरनामा व्यावसायिकरूपमा क्यानोनिङ सञ्चालन गर्नुपूर्व प्रशिक्षक बोलाएर तालीम सञ्चालन गरिनेछ । “झरनामा क्यानोनिङको सफल परीक्षण भइसकेको छ”, उहाँले भन्नुभयो, “अब छिट्टै प्रशिक्षक बोलाएर यहाँका युवालाई क्यानोनिङसम्बन्धी तालीम दिने सोचमा छौँ ।” ४० मिटर अग्लो झरनामा गत मङ्सिर १६ गते सफल परीक्षण भएको थियो ।
झरनामा आउने पर्यटकलाई बास बसाउन पाथर्दी गाउँमा घरवास शुरु भइसकेको छ । पाथर्दी गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषिगाउँसमेत हो । यहाँका १० घरमा घरवास सञ्चालनमा छ । उक्त घरवासमा आन्तरिक पर्यटक बास बस्नका लागि पुगिसकेका छन् ।
स्वच्छ वातावरण, चराचुरुङ्गीको चिरविराहटसँगै छङ्छङ्ती झरेको पानीको झरनाले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गरेको छ । हरिनास गाउँपालिका–४ स्थित कटमराम्चेबाट बग्दै आएको सो खोलाको इलुङ झरनाबाट बनेको दहमा प्रत्येक वर्ष मङ्सिरमा झाँक्री पूजा गर्ने गरिएको स्थानीयवासी दिलबहादुर थापाले बताउनुभयो । थापाका अनुसार गाउँमा अनिष्ट नहोस्, बालीनाली राम्रो होस्, रोगव्याधी नलागोस् भनेर परम्परागतरूपमा गरिँदै आएको उक्त पूजामा भेँडा र कुखुराको सामूहिक बलि दिने प्रचलन छ ।
उक्त झरना पृथ्वीराजमार्गको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटार बजारबाट २३ किमीको दूरीमा छ । खैरेनीटारदेखि एक घण्टाको मोटरसाइकल यात्रापछि झरनासम्म पुग्न सकिन्छ । खैरेनीटार बजारबाट भीमादसम्म सात किमी पक्की बाटो छ भने त्यहाँबाट झरनासम्म पुग्न ग्राभेल बाटो रहेको छ ।







