मन्त्रालय भित्र छुट्टै थियो ‘गोल्ड मेडलिस्ट’ उपसचिवको ‘रवाफ’

काठमाडौं- साढे २२ लाख घुससहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ‘गोल्ड मेडलिस्ट’ हुन् । तर उनी ‘गोल्ड मेडलिस्ट’ उपसचिव भने होइनन, अर्थशास्त्रमा स्नातकोत्तर गर्दाका ‘गोल्ड मेडलिस्ट’ हुन् ।

गोल्ड मेडलबारे उनले सबैलाई सुनाउने गरेका थिए । कतिपयसँग त उनले नेपालको कर्मचारीतन्त्रमा आफू जत्तिको अब्बल कोही पनि नभएको घमण्ड देखाउँथे । उनी त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्दाका ‘गोल्ड मेडलिस्ट’ भएकैले एकदिन देशको मुख्यसचिव हुने उनको धोको थियो।

त्यतिमात्रै होइन उपसचिव प्रमोद नेपाल सरकारी सेवामा प्रवेश गरेपछि बेलायतमा छात्रवृत्तिमा पढेर फर्किएका थिए । रोचक त के छ भने एउटा ‘गोल्ड मेडलिस्ट’ मन्त्रालयको उपसचिव बेलायतमा अध्ययन सकेर नेपाल फर्किएको ८ महिनामै घुष घुससहित पक्राउ परे ।

घुस लिने गरी तयारी गरिरहेको संकेत पाएपछि अख्तियारको टोलीले उनलाई पछ्याईरहेको थियो । नभन्दै, नेपालले नागपोखरीस्थित होटल अरण्यमा पुगेर व्यवसायीसँग घुस लिए ।पर्यटन व्यवसाय (प्याराग्लाइडिङ) को अनुमतिका लागि उपसचिव नेपालले घुस लिँदा उनको मुख्यसचिव बन्ने सपना चकनाचुर बन्यो ।

उनको साथमा भेटिएको साढे २२ लाखमध्ये ६ लाख साथबाटै र बाँकी साढे १६ लाख गाडीमा भेटिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन् ।नेपाललाई अख्तियारको टोलीले तत्कालै खानतलासी गर्दा साथबाटै ६ लाख रुपैयाँ भेटिएको र उनले प्रयोग गरेको सरकारी गाडीमा थप १६ लाख भेटिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया