काठमाडौं । नाबालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै मोडल ग्लोबल भिसा कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।
नाबालिकाविरुद्ध यौन दुर्व्यवहार गरेर बालबालिकाविरुद्धको कसूर गरेको निष्कर्षसहित बालबालिका सम्बन्धी ऐनअनुसारको कसूरमा जाहेरी दर्ता भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले अनलाइनखबरलाई बताए ।
सौन्दर्य प्रतियोगिताकी एक प्रतिस्पर्धीले ८ वर्ष अघि पाण्डेले आफूलाई जबरजस्ती करणी गरेको खुलासा गर्दै भिडियो सन्देश सार्वजनिक गरेपछि पाण्डे शनिबार पक्राउ परेका थिए ।
बलात्कारको मुद्दामा हदम्याद बढाउन माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसहित मुलुकका विभिन्न स्थानमा प्रदर्शन भए । संसदमा पनि यस विषयले प्रवेश पायो, सभामुख अग्निप्रसाद सापकोटाले तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरा ल्याउन सरकारलाई रुलिङ गरे । त्यसपछि गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गर्यो । शनिबार आरोपी पाण्डेलाई पनि पक्राउ गर्यो ।
पाण्डे पक्राउ परेको भोलिपल्ट आइतबार एक किशोरी उपत्यका प्रहरी अनुसन्धान कार्यालयको सम्पर्कमा पुगेकी थिइन्। उनैले पाण्डेविरुद्ध जाहेरी दिएकी हुन् ।







