काठमाडौँ, प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भक्तपुरमा चाँगुनारायण नगरपालिका–२ दुवाकोटको एक रोपनी एक दाम जग्गा कब्जा गरेको दाबी गरेको छ ।
चाँगुनारायण नगरपालिका–५ की निर्मलाकुमारी पुरी र भक्तपुर–१० कमलविनायककी चन्द्रमाया सुवालको नाममा रहेको उक्त जग्गा विप्लव माओवादीको भक्तपुर जिल्ला जनपरिषदले कब्जामा लिएको हो ।
भू-माफियाले चलखेल गरी उक्त जग्गाका वास्तविक धनीबाट उम्काएको आरोप लगाउँदै । कित्ता नम्बर १७९८ रहेको उक्त जग्गामा सोमबार विप्लव माओवादीले झन्डा गाडेको हो ।
जग्गा भएको स्थानमा लेखिएको छ, ‘ यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पाइँदैन, अन्यथा जनपरिषदले कडा कारबाही गर्नेछ । ‘ सो जग्गा कब्जामा लिएको भन्दै जनपरिषदले विज्ञप्ती नै जारी गरेको छ ।
त्यहाँका समाजसेवी, भलादमी र बुद्धिजीवीसँग छलफल गरिएको र वास्तविक धनी पीडित भएको पुष्टि भएकाले जग्गा कब्जामा लिइएको विज्ञप्तीमा उल्लेख छ ।






