बलात्कारपछि मृत्युको सहारा

फाइल फोटो

राजविराज, ३१ भदौ । आफू सामूहिक बलात्कारमा परे पनि गाउँको ‘पञ्चेती’ले उजुरी दिन रोकेपछि पीडित १७ वर्षीया नन्की भनिने संगीता मण्डलले मंगलबार आत्महत्या गरेकी छन्। सप्तरीको डाकनेश्वरी नगरपालिका–७ ललितपुरकी संगीताको मृत्युलगत्तै चार आरोपित फरार भएका छन्। आरोपितमा ३० वर्षीय धर्म मण्डल, ३५ वर्षीय विष्णु मण्डल, १८ वर्षीय रञ्जित मण्डल र १९ वर्षीय बब्लु मण्डल छन्।

पीडितलाई प्रहरी कार्यालय जान रोक लगाएको आरोपमा चार पञ्चलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय जयकान्त मण्डल, वासुदेव मण्डल, सत्यनारायण मण्डल रहेको सप्तरी जिल्ला प्रहरीले जनाएको छ। उनीहरूले पीडित संगीता र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितहरूबाट ५५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने ‘फैसला’ सुनाएका थिए। उक्त निर्णयप्रति असन्तुष्ट पीडितले पीडा सहन नसकी आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

किशोरीकी आमाका अनुसार घटना सोमबार बिहानको हो। किशोरी हिलो लागेको रगतपच्छे अवस्थामा रुँदै घर आइन्। हातका चुरा फुटेका थिए। कपाल पूरै फुकेको थियो। धेरै बेरसम्म एकनास रोइरहिन्। चार जनाबाट आफू बलात्कृत भएको सुनाएर केहीबेर बेहोस भएको पीडितकी आमाले बताइन्।

चार जनाले पछाडिबाट झ्याप्पझुप्प समातेर खेतमै लडाए। वरपर अरू कोही थिएनन्। लुगा फुकाल्न थालेपछि जोरजोरले चिच्याउन खोजे पनि उनको केही सीप लागेन। उनको मुख बन्द गरिएको थियो। आवाज नै बाहिर गएन। बलात्कारीहरू जबरजस्ती गरेर फर्किए। पीडित किशोरी एकछिन बेहोस भइन्। उठ्नै सकिनन्।

जसोतसो घर फर्किएकी उनले आफ्नो पीडामा गाउँलेको सहयोग पाउने अपेक्षा गरेकी थिइन्। तर, त्यसो भएन। आमाले घटनाबारे जानकारी दिँदै न्यायको भिख माग्दै आफ्नै गाउँ र समुदायका मुख्य व्यक्तिहरूलाई बोलाइन्। भेला भएका १०–१२ जना पञ्चले आरोपितहरूबाट क्षतिपूर्ति भराई दिनुपर्ने र पीडितले कतै उजुरी गर्न नपाउने ‘फैसला’ सुनायो। आमाछोरी दुवैले त्यसको विरोध गरे।

पञ्चले एक जनाको इज्जत ठूलो कि सिंगो गाउँको भन्दै धम्क्याए। प्रहरीमा उजुरी गरे साक्षी प्रमाण जुटाउन नसक्ने भएकाले चुपचाप रहन उनीहरूले चेतावनी दिएको छिमेकी बताउँछन्। बलात्कारको उजुरी गरे किशोरीकै बदनाम हुने, त्यसले बिहे पनि नहुने, आरोपितबाट पाउने क्षतिपूर्ति पनि छुट्ने भन्दै घटना बिर्सिन गाउँका ‘जान्ने–बुझ्ने’ले भनेपछि किशोरी तनावमा परेको छिमेकी पाचीलाल मण्डलले बताए। अन्नपूर्णपोस्टमा समाचार प्रकाशित छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया