‘पान्डाल’ भत्किँदा कम्तीमा १४ जनाको मृत्यु, २५ गम्भीर घाइते

राजस्थान, भारत, ८ असार (रासस÷एएनआई) ः आइतबार भारतको राजस्थानस्थित बार्मर क्षेत्रमा अपरान्ह् करिब ४ः३० बजे एक्कासी हावासहित परेको बर्षाका कारण स्थानीय एक ‘पान्डाल’ भत्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।

“धार्मिक सभाका लागि निर्माण गरिएको उक्त अस्थायी संरचना (टेन्ट) भत्किएर १४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५० जना घाइते भएका छन्,” स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

“घटनामा २५ जनाभन्दा बढी गम्भीर घाइते भएका र उनीहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ । ”

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक सभामा भएको उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । साथै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्नुभएको छ ।

प्रधानमन्त्रीको कार्यालयको आधिकारिक ट्वीटर पेजमा प्रधानमन्त्रीले भन्नुभएको छ, “बार्मरमा पान्डाल भत्केर दुःखद् घटना घटेको छ । यस समय घटनामा ज्यान गुमाउने शोकाकुल परिवारप्रति म समवेदना प्रकट गर्न चाहन्छु साथै घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्दछु ।”

यसैगरी राजस्थानका मुख्यमन्त्री अशोक गेलटले घटनाले आफूलाई स्तव्ध बनाएको जनाउनुभएको छ ।

उहाँले घटनाबारे छानविन समिति बनाई अनुसन्धान गर्न आग्रह गर्दै राज्यले मृतक तथा घाइतेका परिवारलाई यथासम्भव सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया