दोहोरो गोली हानाहान भएपछी संखुवासभामा सेना परिचालन, हेलिकोप्टरबाट ५० जनाको ‘एलआरपी’ टोली घटनास्थलमा !

सोमबार बिहान करिब नौ बजे नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीसँग दोहोरो भिडन्त भएको संखुवासभामा केन्द्रबाट थप सुरक्षाकर्मी पठाइएको छ ।

नेपाली सेनाको हेलिकोप्टरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली त्यहाँ पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीले नेपाली सेनाको एमआई १७ हेलिकोप्टरबाट संखुवासभाको सिलिङचोङ गाउँपालिकामा ५० जना सुरक्षाकर्मी उतारेको हो ।

केन्द्रबाट नेपाल प्रहरीका १० र १५ गरी ३५ र सशस्त्र प्रहरीको १५ जना गरी ५० जनालाई अलगअलग गरी हेलिकोप्टरबाट सुरक्षाकर्मीलाई त्यहाँ पुऱ्याइएको हो । उनीहरूलाई आधुनिक हातहतियारसहित त्यहाँ पुऱ्याइएको बताइएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई प्रहरी निरीक्षकको नेतृत्वमा २५/२५ जनाको टोली संखुवासभा पुगेको स्रोतले बतायो ।

सशस्त्र प्रहरी बल, हल्चोकका डीआईजी सुरजकुमार श्रेष्ठले सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको नेतृत्वमा २५ जनाको टोली खटाइएको पुष्टि गरे ।

उनका अनुसार यो लङ् रेन्ज पट्रोलिङ (एलआरपी) टोली हो । नेपाल प्रहरीले पनि विशेष कार्यदलका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५ जनाको टोली पठाएको छ ।

प्रहरीले एकोहोरो गोली चलाएको भए पनि नेकपा कार्यकर्ता देखेर आफै तर्सिएको प्रहरीले दोहोरो फायरिङ भएको भन्दै काठमाडाैंबाट मद्दतका नेपाली सेनाको टोली मगाएको हो  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया