काठमाडौँ, १३ कार्तिक । भारत देहरादूनको डिकिलिङस्थित शाक्य एकेडेमीका अध्यक्ष एवं प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई कुटपिट गर्दै ‘बन्धक’ बनाएका छन् । दसैं–तिहारको बिदामा घर फर्कन पाऊँ भन्दै ५१ जना नेपाली विद्यार्थीले निवेदन दिएपछि विवाद बढ्दा रिम्पोचे ज्ञानबज्रले विद्यार्थीमाथि कुटपिट गरेका हुन् । कुटाइ खानेहरू ६ देखि १७ वर्षसम्मका छन् ।
अंग्रेजी शिक्षा तथा बौद्ध लामा पढाइ हुने उक्त एकेडेमीमा २ सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेकामा ‘घर जान चाहने’ सबै विद्यार्थी तथा नेपाली मूलका शिक्षकसमेतको मोबाइल खोसिएको र एकेडेमी आवासबाहिर आउजाउ गर्न नदिइएको विद्यार्थीका अभिभावकले बताएका छन् ।
यो घटनाबारे स्थलगत जानकारी लिन बिहीबार हरिद्वार–ऋषिकेशस्थित नेपाली समाजका प्रतिनिधि पुष्पराज पाण्डेयसहितको समूह जाने भएको छ । ‘विद्यार्थीको उद्धार गर्नुपरे नेपाली दूतावासको समन्वयमा यहाँको नेपाली समाजले सहयोग गर्नेछ,’ पाण्डेयले कान्तिपुरसँग भने, ‘हामी पीडित विद्यार्थीको औषधोपचार र अरू सहयोग गर्छौं ।’
घटनाबारे ध्यानाकर्षण भइसकेको उल्लेख गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भइसकेको’ ट्वीटरमार्फत जानकारी दिएका छन् । दिल्लीस्थित राजदूत नीलाम्बर आचार्यले पनि यो घटनाबारे ‘खोजखबर लिने’ प्रतिक्रिया दिएका छन् ।देवेन्द्र भट्टराईले आजको कान्तिपुर दैनिकमा लेखेका छन् ।







