काठमाडौं- झण्डै पाँच वर्षअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिभिजन कार्यक्रममा प्रश्न सोधेर चर्चामा आएका सागर ढकाल आगामी निर्वाचनको तयारी गर्न देउवाको गृह जिल्ला पुगेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग आउँदो संसदीय चुनाव लड्ने बताउँदै आएका युवा इन्जिनियर सागर ढकाल चुनावी तयारीका लागि डडेल्धुरा पुगेका छन्।
प्रधानमन्त्रीविरुद्ध उनकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका सागर त्यसकै तयारीका लागि डडेल्धुरा पुगेको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
उनले सामाजिक सञ्जालमा देउवालाई इंगित गर्दै लेखेका छन्
मेरो प्रधानमन्त्रीको लागि आवेदन डडेलधुरा शेरबहादुरको क्षेत्रबाट उठ्ने
आउने चुनावमा अलि फरक तरिकाले प्रस्तुत हुने योजना बनाएका छौ। मैले हालका प्रधानमन्त्री शेरबहादुरको डडेलधुराको क्षेत्रबाट चुनावमा उठी उहाँलाई ससम्मान पूर्ण रूपमा वृद्ध भत्ता सहित आराम दिने निर्णय गरेको छु। म संसद्मा त जान्छु नै तर १६५ क्षेत्रमा मजस्ता युवाहरूले पनि मरो प्रधानमन्त्री बन्ने नेपाली जनतामाझ प्रस्तुत गरेको आवेदन स्वीकारेमा म विश्वको नै कान्छो प्रधानमन्त्री भएर नेपाललाई मात्र होइन विश्वका युवाहरूलाई नै एउटा आशा दिन सक्छु। हाम्रो तर्फबाट नीतिगत तयारी सकिएको छ – बाकि १६५ क्षेत्रबाट उठ्ने युवा उम्मेदवारहरूलाई सुम्पिन चाहन्छौ। निकै गाह्रो छ तर हजुरहरू सबैको साथ भएमा असंभव भने छैन।
२५० बर्षे राजतन्त्र फालेर दलतन्त्र अब ६०-७० बर्षे दलतन्त्र फालेर जनतन्त्र
भिडियो सामाग्री हेर्नुहोस्
ढकाल पढ्नका लागि बेलायतको अक्सफोर्ड विश्वविद्यालय पुगेका थिए। उनले अक्सफोर्ड विश्वविद्यालयबाट पोलिसी एन्ड म्यानेजमेन्टमा एमएस्सी गरेका छन्। देउवालाई प्रश्न सोध्नेबेला सागरले पुल्चोक क्याम्पसबाट हाइड्रो मेकानिकलमा बिई गरेका थिए।







