तीन दिनमा ७६ अर्ब भुक्तानी : ४६ हजार चेक काटिए, मध्यरातसम्म बैंक खुला

काठमाडौं : काठमाडौं १ साउन । सरकारले आर्थिक वर्षको अन्तिम तीन दिनमा ७६ अर्ब २१ करोड रुपैयाँ भुक्तानी गरेको छ। महालेखा नियन्त्रक कार्यालयले मंगलबार साँझ ७ बजेसम्म उपलब्ध गराएको तथ्यांकअनुसार आइतबारदेखि तीन दिनमा ४६ हजार वटा चेक काटिएका छन्।

मंगलबार साँझ ७ बजेसम्म सरकारको बजेट कुल विनियोजन १३ खर्ब १५ अर्बमध्ये ८३ प्रतिशत खर्च भएको छ।

विद्युतीय भुक्तानी सुरु हुनुअघि आर्थिक वर्ष समाप्त हुन चार–पाँच दिनअघि नै चेक काट्न बन्द गर्ने चलन थियो।

खर्च गर्ने निकायले पठाएको भुक्तानी आदेशका आधारमा रकम भुक्तानी गर्ने कोष तथा लेखा नियन्त्रक कार्यालयले देशभरबाट सोमबार राति १२ बजेसम्म प्राप्त भुक्तानी आदेशको चेक काट्ने जनाएको छ।

‘आर्थिक वर्ष समाप्त हुने अन्तिम दिन राति अबेरसम्म चेक काटेर ठेकेदार तथा वस्तु र सेवाका आपूर्तिकर्तालाई भुक्तानी दिन ढिलाइ गर्ने तथा मोलमलाइसमेत हुन्छ। ’

मंगलबार साँझ ७ बजेसम्म सरकारको बजेट कुल विनियोजन १३ खर्ब १५ अर्बमध्ये ८३ प्रतिशत खर्च भएको छ। चालु खर्च ७ खर्ब १५ अर्ब रूपैयाँ, पुँजीगत खर्च २ खर्ब ३६ अर्ब रुपैयाँ तथा वित्तीय व्यवस्था एक खर्ब ४१ अर्ब रुपैयाँ खर्च भएको छ। चालुतर्फ कुल विनियोजनको ८४.६ प्रतिशत, विकास खर्च ७५.१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९०.७ प्रतिशत खर्च भएको छ। 

सरकारले राजस्व लक्ष्य भने भेट्टाउन सकेको छैन। चालु आर्थिक वर्षमा संघीय सरकारले ८ खर्ब ३१ अर्ब राजस्व संकलनको लक्ष्य राखेकोमा सात खर्ब २२ अर्ब राजस्व संकलन भएको छ। जुन, संशोधित लक्ष्यभन्दा कम हो। सरकारले बजेटको अर्धवार्षिक समीक्षामार्फत राजस्व लक्ष्य ८ खर्ब ३१ अर्बबाट घटाएर ८ खर्ब ६ अर्ब राखेको थियो।

त्यस्तै, अर्धवार्षिक समीक्षामा कुल विनियोजनको चालु खर्च र विकास खर्चतर्फ क्रमशः कुल विनियोजनको ९४.४ प्रतिशत र ८४.५ प्रतिशत खर्च हुने अनुमान थियो। यद्यपि संशोधित लक्ष्य अनुसारको खर्च भने नहुने निश्चित भएको छ। यो समाचार अन्पुनपुर्ष्पण पोष्ट दैनिकमा पुष्पराज आचार्य/पवन तिमिल्सिनाले लेखेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया