जब मन्त्री नै प्याजमा ठगिए…

फाइलफोटो

काठमाडौं, १ असोज। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्याज खरिदमा ठगिएका छन्। उपभोक्ताको गुनासोपछि मन्त्री भट्ट बुधबार बिहान अनुगमन गर्न बल्खु बजार पुगेका थिए। व्यापारीले भट्टलाई प्रतिकिलो १ सय २० रुपैयाँले बिक्री गरेका हुन्। व्यापारीले भने ४८ रुपैयाँ प्रतिकिलो खरिद गरेका थिए। उक्त प्याज मंगलबारसम्म प्रतिकिलो ६० देखि ७५ रुपैयाँसम्ममा पाइन्थ्यो।

साधारण वेषभूषा र मास्क लगाएर अनुगमनमा निस्किएका भट्टलाई अधिकांश व्यापारीले चिनेनन्। अनुगमनका क्रममा बढी मूल्य लिएको, प्याज लुकाएको, नचिनेका उपभोक्तालाई छैन भनेर फर्काएको अभियोगमा ७ वटा पसल सिल गरिएको थियो। बल्खु बजारको थोक बिक्रेता एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनील केसीलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको मन्त्री भट्टका स्वकीय सचिव हितेश ओझाले सुनाए।

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको असर नेपाली बजारमा परेको छ। भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले सोमबारदेखि सबै प्रकारको प्याज निर्यातमा रोक लगाएको हो। अन्नपूर्ण दैनिकमा राजेश वर्माले समाचार लेख्नु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया