काठमाडौँ, भूकम्पपीडित लाभग्राही सूचीमा नाम भएका तर पहिले नै घर बनाइसकेका भुकम्प पिडितलाई सरकारले अनुदान दिने नदिनेबारे सरकार अन्योल मै थियो ।
आज मंगलबार बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले आफैं घर बनाउने भूकम्पपीडितलाई एकमुष्ट ३ लाख रुपैयाँ दिने निर्णय गरेसंगै यस अन्योलको अन्त्य भएको छ ।
प्राविधिक खटिनुपूर्व नै बनाइएका घरलाई उक्त बैठकले निजी आवास पुनर्निर्माण अनुदान रकम उपलब्ध गराउने सम्बन्धी कार्यविधि पारित गरेको छ । यस बैठक संगै प्राविधिक खटिनुपूर्व नै बनेका निजी आवासलाई तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउने बाटो खुलेको छ ।
प्राधिकरणले समितिको निर्णय अनुसार अनुदान वितरण अब द्रुत गतिमा हुने जानकारी दिएको छ । तर अनुदान प्राप्त गर्नको निम्ति प्राधिकरणले प्राविधिक परिचालन गर्नुपूर्व नै उक्त घर पुनर्निर्माण भएको र लाभग्राही बसिरहेको हो भनि स्थानीय तहबाट प्रमाणित हुनुपर्नेछ ।
प्राविधिक परिचालन गर्नुपूर्व पुनर्निर्माण गरिएका घरका घरधनीलाई एकमुष्ट रकम उपलब्ध गराउने कार्य केही ढिलाइ भएको देखिएकाले उक्त कार्यलाई प्राथमिकताका साथ अघि बढाउन कार्यविधि बनाएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताएका छन् ।
हाल सम्म ४ लाख ७४ हजार लाभग्राहीले तेस्रो किस्ता लिइसकेको प्राधिकरणले जनाएको छ । हाल सम्म ४ लाख २३ हजार घर पुनर्निर्माण सम्पन्न भइसकेका छन् भने २ लाख ११ हजार घर पुनर्निर्माणको क्रममा रहेका छन् ।
प्राविधिक खटिनपूर्व बनेका घरहरु करिब १२ हजार भएको तथ्यांक प्राधिकरणसंग छ । यसमा थप तथ्यांक आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।







