अबको निर्वाचनमा कम्युनिस्ट शक्तिहरूमा माओवादी पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौँ \ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निर्वाचनमा कम्युनिस्ट शक्तिहरूमा माओवादी केन्द्र पहिलो बन्ने बताएका छन् ।

माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले संघीय निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी र नेकपा माओवादी केन्द्र दोस्रो बन्ने बताएका हुन् ।

‘कम्तीमा पनि लेफ्ट मोमेन्टको पहिलो हुने हो, मैले कांग्रेसका नेताहरूलाई पनि भनेको छु । अहिले सायद पहिलो तपाईँहरू नै हुनुहुन्छ । त्यो देखिन्छ पनि । दोस्रो चाहिँ माओवादी केन्द्र हुनुपर्छ । त्यसमा सहयोग गर्ने हो, भने सबै सहज जान्छ, होइन भने जाँदैन ।’, प्रचण्डले भने ।

आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र दोस्रो पार्टी बनेपछि देशको बागडोर आफ्नो हातमा आउने उनले बताए । ‘त्यसपछि देशलाई यसरी विकास, सुशासन र यसरी समृद्धि हासिल गर्न सकिन्छ भनेर देशलाई देखाउनु छ ।’, प्रचण्डले भने । त्यस्तै उनले ‘फेरि एक पटक मालिक हुनेु गरी जोड लगाउन सम्भव रहेको बताएका छन् ।

‘हामीले जनयुद्धमा योजना बनाएर जाँदा प्रत्येक महिना रिभ्युलस्नरी छलाङ हान्न सक्ने पार्टी हो हामी । अब हामीसँग तीन महिना बाँकी छ । यो तीन महिनामा अभियानको रुपमा गयौँ भने देशको राजनीतिक रंगमञ्च बदल्न सक्ने तागत हामीसँग छ । अरुले देलान् र खाउँला जस्ता भयौँ । अब त्यस्तो हुने होइन, हामी आफैँ जस्तो हुने हो । मालिक हुने गरी एकचोटी फेरि जोड लगाउन सम्भव छ।’, उनले भने । त्यसैगरी प्रचण्डले संघीय निर्वाचनमा हालको गठबन्धन रहिरहने बताएका छन् ।

त्यस्तै, अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराईलाई माओवादी नै नभएको बताएका छन्। प्रचण्डले माओवादी भनेको प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र मात्र भएको दाबी गरे।

‘किरण माओवादी काम छैन, विप्लव माओवादी पनि अब अर्थ छैन्,’ प्रचण्डले भने, ‘बाबुराम त माओवादी नै होइनन् तीनको हिसाब नै भएन।’
उनले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा देशको बागडोर सम्हाल्ने जिम्मा माओवादी माझ रहेको बताए। ‘माओवादी भनेको माओवादी केन्द्रमात्र हो भन्ने यो पटकबाट प्रमाणित भयो’ प्रचण्डले भने।

उनले अगाडि थपे, ‘१० वर्षपछि आएर देशमा एउटा मात्रै माओवादी छ र यसको एउटै नेतृत्व प्रचण्ड मात्रै छ भन्ने पुष्टि भएको छ ।’प्रचण्डले स्थानीय तहमा झण्डै १७५ आसपास सिट पाउने सम्भावना चुनावी तालमेलको तिक्तताकाे कारण पूरा हुन नसकेको बताए । ‘१२२ पुग्यौं । ५० सिट गुमायौं,’ उनले भने, ‘२० सिट आए पनि तेस्रो हुन्थ्यौं तर त्यो निर्णायक हुँदैनथ्यो । अहिले हामी निर्णायक तेस्रो शक्ति छौं ।’

उनले एकपटक पुनः देशकाे बागडोर माओवादीका हातमा ल्याएर सुशासन र विकासको उदाहरण पेश गर्ने आफ्नो धोको रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया