अहिलेसम्म १२१ तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण

काठमाडौँ – सरकारले तीन वर्षअघि शुरु गरेको ‘तुइन विस्थापन कार्यक्रम’अन्तर्गत अहिलेसम्म १२१ तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरेको छ ।

सरकारले दुर्गम ठाउँमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि थालेको उक्त कार्यक्रमअन्तर्गत अहिले थप १० स्थानमा झोलुङ्गे पुल निर्माण भइरहेको स्थानीय पूर्वाधार विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका तुइन विस्थापन गरी त्यस ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न निर्देशन दिनुभएको हो ।

“आवश्यक भएको स्थानमा झोलुङ्गे पुल निर्माणलाई निरन्तरता दिइरहेका छौँ”, उहाँले भन्नुभयो ।

सबै जिल्ला प्राविधिक कार्यालयमार्फत तुइनको विवरण सङ्कलन गरिएको थियो ।

चौवन्न तुइन नजीकै झोलुङ्गे पुल रहेकाले नयाँ पुल निर्माण आवश्यक नरहेको श्रेष्ठले बताउनुभयो । पहिचान भएका पाँच तुइन भारतको सीमामा रहेको उहाँले बताउनुभयो ।

“ती ठाउँमा अहिले पुल निर्माण शुुरु भएको छ”, उहाँले भन्नुभयो ।

चालु आवमा पाँच स्थानमा झोलुङ्गे पुल निर्माणको माग आएको छ । तीमध्ये चार ठाउँमा निर्माण शुरु भइसकेको छ ।

विभागले देशभर १२० मिटरभन्दा लामो झोलुङ्गे पुलको निर्माण गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया