काठमाडौँ, ३१ भदौ । विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार असोज १ गतेदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखिको बन्दाबन्दी र निषेधाज्ञाका कारण चैत ९ गतेदेखि बन्द रहेको केबलकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागिएको हो ।
चन्द्रागिरि हिल्स प्रालिका महाप्रवन्धक अभिषेकविक्रम शाहले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डअनुरूप कम्पनीले केबलकार र रिसोर्ट सञ्चालनको तयारी गरेको जानकारी दिनुभयो । “यात्रुलाई सामाजिक दूरी कायम गराउन प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाउने, माक्स, स्यानिटाइजर, पञ्जाको अनिवार्य व्यवस्था गरी प्रत्येक केबलकारमा आधामात्र यात्रु राखेर सेवा प्रदान गर्न लागेका छौँ,”–उहाँले भन्नुभयो ।