भद्रपुर,७ मंसिर | झापामा हालसम्म १ सय २२ वटा सीमास्तम्भ फेला परेका छैनन् । भारतसँग १ सय ४४ किलोमिटर क्षेत्रमा जोडिएको झापामा ९ सय ९५ वटा सीमास्तम्भ छन्, जसमध्ये ३६ वटा पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको सरकारी तथ्याङ्कमा उल्लेख छ । ७६ वटा सीमास्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा छन् ।
दक्षिणी झापाको कचनकवल–४ स्थित पाठामारीमा रहेको नेपाल–भारत सीमानाको ११२ नम्बरको जङ्गे पिलर ढल्ने अवस्थामा पुगेको छ । यो वर्ष मात्र १६ वटा पिलरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
संरक्षणका लागि विभागमा जानकारी गराइसकेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो । दुवै देशका नापी विभागको प्राविधिक टोलीले यही महिनाबाट स्थलगत अनुगमन गरी पुनःस्थापन गरिने विभागबाट जानकारी पाएको प्रजिअ तिमिल्सिनाले बताउनुभयो ।
नेपाल भारत दुवै देशको साझा सरोकारको विषय भए पनि दुवै देशका सरकारी पक्षको चासो सीमा पिलर जोगाउन नरहँदा ११२ नम्बर पिलर अर्को वर्ष देख्न पाइने नपाइने केही भन्न नसकिने स्थानीयको भनाइ छ ।
सीमा पिलरको विषय प्राविधिक भएकाले विभागमा जानकारी गराउने मात्र काम भएको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाका एसपी रमेशकुमार पाण्डेले बताउनुभयो । पिलरको फोटोसहित लिखित जानकारी विभागमा गराइसकेकोले यही महिनामा दुवै देशका टोली अनुगमनमा आउने उहाँको भनाइ छ ।आजको नेपाल समाचारपत्रमा खबर छ ।