काठमाडौँ, केहि दिन यता सिरिन्ज काण्डले मानिसमा त्रास फैलाएको छ । यस्तैमा काभ्रे बनेपामा ३४ बर्षीया युवती माथि सिरिन्ज प्रहार गरि एक युवती फरार भएकी छिन् ।
मंगलबार राति करिब सवा ८ बजे बनेपा बजारमा घर फर्कँदै गर्दा बाटोमा एक अपरिचित युवतीले हातमा सिरिन्ज प्रहार गरि फरार भएकी हुन् ।ठमेल घर भई २०७२ साल देखि बनेपा नगरपालिका– ८ करुणा मार्गमा बस्दै आएकी युवती माथि सिरिन्ज प्रहार गरिएको हो ।
उनि भन्छिन्, ‘ दिदीको घर डेराबाट केहि पर छ, राति सवा ८ बजे दिदीको घरबाट १३ बर्षिया छोरी र म फर्कर्दै थियौँ । बाटोमा विपरित दिशाबाट आउँदै गरेकी एक युवती ठोक्किन आईन र हातमा हात जुधाएर अघि बढिन् । उसँग ठोक्किए लगत्तै हातमा चसक्क भयो, म चिच्याएँ, छोरीले के भयो भन्न नपाउँदै फर्केर हेर्दा ती अधबैशे उमेरकी युवती फटाफट आफ्नो बाटो लागिन् । म कोठामा गएँ खाना खाएर सुतें तर हात दुखेर सुत्न सकिन । छोरी र म एउटा कोठामा सुत्ने भएकाले उनलाई भनें तर उनी निद्रामा भएकाले वास्ता गरिनन् । ‘
थप गर्दै उनले भनिन् , ‘ विहान उठ्दा समेत हात दुख्न छाडेन । हात मर्काउँदै एक्सरसाईज गर्दा त झन सुन्निए आयो । तत्कालै नाला दोबाटोमा रहेको मेडिकलमा गएँ । मेडिकलमा किराले टोकेर सुन्निको होकी भनेर जिज्ञासा राख्दा मेडिकलवालाले किराले टोकेको प्वाल नभई सियो घोपेको जस्तो देखियो भनेपछि म आतिएँ । तत्कालै उहाँले नै टेकु जानु भन्नु भयो । ‘
उनि भन्छिन्, ‘ टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आधा दर्जन डाक्टरहरुले सिविसि, आरएफटी, एलएफटी, एचविएसएजी, एचसिभी, एचआईभी एड्स लगायतका जाँच गर्नु भयो र तत्कालै एचआईभी एड्स विरुद्धको औषधी खान दिनु भयो । प्रहरीले पनि अनुसन्धान शुरु गरेको छ । ‘
यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन् ।







