काठमाडौँ, प्रधानमन्त्री ओलीले सरकारले गर्नुपर्ने काम गरिसकेको हुँदा पनि राजपाले अकारण अदालतको फैसलाको विषयलाई लिएर घुर्क्याउने काम गरेको आरोप लगाएका छन् ।
उनले राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनु खुसीको कुरा भएको बताएका छन् । बुधबार नेपाल टेलिभिजनबाट प्रसारण भएको जनतासंग प्रधानमंत्री कार्यक्रममा बोल्दो ओलीले भने, ‘ अकारण अदालतको फैसलाको विषयलाई लिएर घुर्क्याउने, धम्क्याउने? जो उचित होइन। सरकारले गर्ने जति काम गरेको छ। उहाँहरूसँग कुनै सम्झौता गरेर तोडिएको त होइन । सरकारको तर्फबाट सक्दो गरिएको हो । उपचार खर्च दिएन कि, जेलबाट छुटाइएन कि, बाँकी वक्यौता कहिले कहिलेका हुन् तिरिएन की! सपथ ग्रहण नगराएकालाई गराइएन की सबै त गरेको छ । उहाँहरुलाई सुरक्षा सम्मान दिइएन कि त्यो पनि गरेकै छ । ‘
यति सबै गरेर पनि अदालतले तथ्य र प्रमाणका आधारमा कानुन बमोजिम गरेकोले रेशम चौधरीका बारेमा अदालतको विरुद्ध सरकार जान नसकिने उनले बताएका छन् ।
उनले भने, ‘ स्वतन्त्र न्यायालयले तथ्य प्रमाणका आधारमा कानूनबमोजिम फैसला गर्यो। त्यो सरकारका हातमा हुने कुरा होइन। अब उहाँहरुले सरकारका विरुद्ध धेरै आरोपहरु, थोत्रा पुराना खिया लागेका, मक्काएका, पात झरेका, जरा सुकेका डाक्ला सुकेका अनेक प्रकारका आरोपहरुसहितको एउटा फेहरिस्त आरोप पत्र सिर्जना गर्नुभएको छ। सम्झिएजति र समर्थन फिर्ता लिएको घोषणा गर्नुभएको छ । समर्थन फिर्ता लिनुपर्ने कारण थिएन लिनुभयो त्यो खुसीको कुरा हो। खुसीको कुरा हो। कसैले समर्थन गर्न नि पाइन्छ फिर्ता लिन नि पाइन्छ। जबरजस्ती गर्न सकिन्न । ‘
प्रधानमंत्रीले उनीहरुलाई साथ मिलेर विकाश निर्माणमा अघि बढ्न हात बढाउँदै भने, ‘ एकपटक अलिअलि भोट आए प्रदेशमा सिट आए। भनेर सधैं यही हुन्छ भन्ने नठान्नु । फेरि चुनाव आउँछ । बरु यस्तो राजनीतिभन्दा आउनुहोस् विकास निर्माणमा मिलेर अगाडि बढौं। सरकार त तराइ मधेशको विकासका लागि कृतसंकल्पित छ । ‘
उनले थप गर्दै भने, ‘ बाबुजी पल्टिएर हिड्ने। यो काम पार लाग्दैन विरोधका लागि होइन विकासका लागि यो सरकार बनेको हो । ‘