सडक मर्मत कार्यमा ढालिएको रुखले खिचेर १ बालकको मृत्यु, बालिका गम्भीर घाइते !

फाइल फोटो

काठमाडौँ, इलाममा रुखले खिचेर विद्यालय जाँदै गरेको एक बालकको मृत्यु भएको छ । जेसिभिले सडक खन्ने क्रममा इलाम को सूर्योदय नगरपालिका- ६ तारा गाउँस्थित हर्कटेबाट थापा गाउँ जाने भित्रि सडकमा रुख ढल्दा उक्त दुर्घटना भएको हो ।

रुख ढल्दा एक बालकको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छिन् । को१ ख २४२७ को जेसिविले रुख लडाउँदा मृत्यु हुने तेज माया गजमेरका १२ वर्षीय छोरा भेषराज गजमेर रहेका छन् ।

त्यसैगरी घाइते हुने सोही स्थान बस्ने खडानन्द रसाइलीकी छोरी १४ वर्षीया कृतिका रसाइली रहेकी छिन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

प्रहरीका अनुसार उपचारको लागी अस्पताल लैजाने क्रममा गजमेरको मृत्यु भएको हो । घाइते कृतिकालाई प्राथमिक उपचार पश्चात थप उपचारको लागी झापाको विर्तासिटि अस्पताल पठाइएको छ ।

दुवै बालबालिका कन्यामको कृष्णश्रम विद्यालयका विद्यार्थी हुन् । स्थानीय ज्ञानु भट्टराईका अनुसार बिहान ९ बजे विद्यालय समयमा यो दुर्घटना भएको हो ।

प्रहरीले जेसीवि चालक मोरङ बिराटनगरका २९ वर्षीय राजेन्द्र तामाङलाई नियन्त्रणमा लिएको छ । चालकको लापरवाहीको कारण यस दुर्घटना भएको स्थानियको भनाइ छ ।

त्यहिँ बाटो मर्मत गर्ने क्रममा दुर्घटना भएको वडाअध्यक्ष शिवकुमार बस्नेत बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया