वैदेशिक रोजगारमा विदेश जानेको संख्या घट्दै, रेमिट्यान्स बढ्दै !

संस्थागत तथा व्यक्तिगत आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत बर्षको तुलनामा निकै तल झरेको छ । चालु आर्थिक बर्ष २०७५/७६ को पहिलो ६ महिनामा वैदेशिक रोजगारीको लागी विदेशिने नेपालीको संख्या ३९.१ प्रतिशतले घटेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो बर्षको सोहि अवधिमा यसको संख्या मात्र १.८ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीको लागी नेपालीको प्रमुख गन्तब्य मलेसिया हो । आर्थिक बर्षको शुरुवातबाट नै मलेसियाको रोजगारी बन्द भएको कारण विदेशिने कामदारको संख्यामा कमि आएको हो । मलेसियामा कामदार लैजाने श्रम समझदारी भएता श्रम तथा रोजगार मन्त्रालयले पुरानो संयन्त्रबाट कामदार लैजान नदिने अडान लिएपछि कामदारको आपूर्ति बन्द भएको हो ।

तर, मलेसिया बाहेक अन्य देशमा जाने नेपालीको संख्यामा पनि केहि कमि आएको छ । श्रमको लागी अन्य देश जाने कामदारको संख्यामा कमि आएको भएता पनि विप्रेषण -रेमिट्यान्स आप्रवाह ३०.२ प्रतिशतले वृद्धि भएको छ । ६ महिनाको अवधिमा मात्र ४ खर्ब ४३ अर्ब ३६ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.८ प्रतिशतले बढेको थियो भने यस बर्ष आप्रवाह १७.६ प्रतिशतले वृद्धि भएको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया