नुवाकोटको विदुर नगरपालिका–३ को वडा कार्यालयमा बुधबार वृद्धभत्ता लिन गएका स्थानीय ९५ वर्षीय सेते सार्की मृतावस्थामा आज भेटिएका छन् ।
वृद्धभत्ता लिन जान भनी घरबाट बिहानीपख वडा कार्यालयतर्फ निस्किएका सार्की साँझसम्म पनि घर नआएपछि सार्कीका परिवारले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा खोजतलासका लागि खबर गरेका थिए ।
प्रहरी, स्थानीयवासी र सार्कीका परिवारसहितका टोलीले खोज्ने क्रममा आज सार्कीका घरबाट केही पर बारीको पाटामा उनी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताउनुभयो ।
प्रहरी निरीक्षक फुयाँलका अनुसार शवपरीक्षणका लागि त्रिशूली अस्पतालमा पठाई घटनाको थप अनुसन्धान भइरहेको छ ।
पार्टी प्यालेसमा दर खानेलाई कारबाही हुने
काठमाडौं– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म मानिने पर्व हरितालिका तीजलाई भड्किलो नबनाउन अपिल गरेको छ ।
कार्यालयले सूचना जारी गर्दै आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म दर खाने, व्रत बस्ने तथा भगवान् शिवको आराधना गरी नाचगान गर्दै मनोरञ्जन गर्दै मनाइने तीज पर्व मौलिकता जर्गेना गर्ने गरी मनाउन अपिल गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।
“तीजका नाममा विभिन्न प्रकृतिका असामाजिक क्रियाकलाप नहोस् भन्ने हेतुले सूचना जारी गरी पहिल्यै सजग गराएका हौँ”, उनले भने ।
तीज पर्व मनाउने नाममा विभिन्न होटल तथा पार्टी प्यालेसमा दर खाने तथा भेटघाट कार्यक्रम गर्ने, गरगहना प्रदर्शन गर्ने, फजुल खर्च गर्ने, विभिन्न साङ्गीतिक कार्यक्रमका नाममा ध्वनि प्रदूषण गराउनेजस्ता असामाजिक क्रियाकलाप नगर्न कार्यालयले अपिल गरेको हो ।
साथै, यस बर्षको तीज भड्किलो नबनाई परम्परागत मौलिक संस्कृतिको संरक्षण र धार्मिक संस्कृतिको जगेर्ना गर्ने गरी मनाउन पनि आग्रह गरिएको छ ।उनका अनुसार कार्यालयको अपिल बेगर त्यस्ता क्रियाकलाप भएको पाइएमा सामाजिक सुरक्षा ऐन–२०३३ अनुसार कारवाही गरिनेछ ।