काठमाडौँ, बाजुरामा विकाशको पहलले नै विनाश निम्त्याएको छ । जिल्लाका सबै स्थानीय तहमा सडक विस्तारको नाममा डोजरको सहायताले जथाभावी खनिएको डाँडाको कारण निकै बस्ती पहिरोको जोखिममा परेको छ ।
डोजरले बस्तीको माथीबाट सडक खन्दा त्रिवेणी नगरपालिका ९ पैमाका एक सय भन्दा बढी परिवार पहिरोको उच्च जोखिमा परेका छन् भने बडीमालीका नगरपालीका १ मैमातोलाको बस्ती नै पहिरो उच्च जोखिममा परेपछि १० परिवारको उठिवास भएको छ ।
पानी पर्दा पहिरोको डरले आफुहरु पहिरोको डरले गाँउबाट टाढा चौरमा पाल टाँगेर बस्ने गरेको बताउँदै स्थानिय नरि बिष्टले भने, ‘ हिँउदको बेला सडक बन्दा विकास भयो भन्ने लागेको थियो । अहिले त माथिबाट पहिरो झरेर विनास पो भयो । ‘
पहिरोकै कारण २० मुरी धान फल्ले खेत पुरिएको समेत उनले बताएका छन् । सदरमुकाम मार्तडीदेखि गौमुल गाउँपालिका जोड्ने यस सडक निर्माणको कारण दर्जन बढी किसानको खेतबारी पहिरोमा परिणत भएसंगै विभिन्न स्थानमा घरमाथि बनेका सडकबाट बग्ने पानीले पहिरोको रुप समेत लिएको छ ।
त्यसैगरी विना योजना डोजर चालक नै प्राविधिक भएर सडक खन्दा समस्या आएको छेडेदह गाँउपालिका २ बस्ने सुरत थापाले बताएका छन् । सडक निर्माण कै कारण छेडेदहका एक दर्जन बस्ती पहिरोको जोखिममा छ ।
त्यस्तै सोही जिल्लाका बुढिन्नदा नगरपालिका ९ का धर्म बोहाराले सडकले विकास नभएर विनाश ल्याएको पनि बताएका छन् ।







