काठमाडौँ, पोखरा महानगरपालिका वडा न. १६ को वडा कार्यालयमा चोरी भएको छ । यसअघि पनि पोखराका वडा नम्बर ५, १३, १४ र १५ कार्यालयमा चोरी भइसकेका छन् । फागुन २३ गतेमात्रै पोखरा १३ को वडा कार्यालयमा चोरी भएको थियो । उक्त कार्यालयका सिसिटिभी क्यामेरासमेत चोरी भएको थियो ।
त्यस्तै १६ नम्बर वडा कार्यालयमा आइतबार बिहान कार्यालय पुग्दा चोरी भएको थाहा भएको वडाध्यक्ष जीवन आचार्यले जानकारी दिएका छन् । वडादक्ष आचार्यका अनुसार कार्यालयबाट २ वटा ल्यापटप, ४ वटा कम्प्युटर तथा कार्यालयका अन्य महत्वपूर्ण सामाग्री चोरी भएको छ ।
उनले भने, ‘ शुक्रबार कार्यालय बन्द गरेर गएपछि सीधैं आइतबार अफिस खोल्दा चोरी भएको थाहा भयो । चोरी शनिबार भयो कि शुक्रबार भयो भन्ने नै थाहा भएन । ‘ लगातारको चोरीले महानगरले महत्वपूर्ण कागजातसहित लाखौं क्षति व्यहोर्दै आइरहेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीले चोरीबारे अनुसन्धान भइरहेको बताएको छ ।